गिरिजानन्द साह/जनकपुरधाम/चैत २६ गते। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ अन्तर्गत मोनास्टिक स्कुलको गल्ली हुँदै रेल्वे निस्किने बाटोदेखि गंगाराम यादव को घरसम्मको क्षेत्रमा अब उज्यालोले झलमल्ल हुने भएको छ।

राष्ट्रिय युवा संघ मधेश प्रदेशका अध्यक्ष लव अधिकारीले आफ्नै व्यक्तिगत लगानीमा उक्त क्षेत्रमा ७० वटा विद्युतीय बल्ब जडान गराएका छन्। स्थानीय बासिन्दाले लामो समयदेखि सो क्षेत्रमा अँध्यारोका कारण आवतजावतमा कठिनाइ भोग्दै आएका थिए। यस कार्यले स्थानीयवासीहरूमा उत्साह र सकारात्मक प्रतिक्रिया देखिएको छ।
लव अधिकारीले जनताको आधारभूत आवश्यकतामा प्राथमिकता दिँदै आफू सदैव समुदायको सेवामा क्रियाशील रहेको बताउँदै आएका छन्। यस पहलमार्फत उनले नागरिकलाई सुरक्षित, व्यवस्थित र उज्यालो वातावरण दिन खोजेको जनाएका छन्।
स्थानीय बासिन्दाहरूले अधिकारीको यो कार्यको खुलेर प्रशंसा गरेका छन्। विश्वसनीय स्रोतका अनुसार, लव अधिकारी अब आउने स्थानीय तह निर्वाचनमा जनकपुरधाम वडा नं. १ को वडाध्यक्ष पदको लागि उम्मेदवारी दिने तयारीमा छन्। उनका समर्थकहरू यसलाई चुनावी तयारीको भागका रूपमा हेरे पनि, अधिकारी स्वयंले यसलाई सामाजिक सेवाको निरन्तरता मात्र भनेका छन्। उनले भने, “मेरो प्राथमिकता सेवा हो। जनताले मप्रति विश्वास देखाए भने म वडाध्यक्षको जिम्मेवारी लिएर जनताको साथ रहनेछु।”
सडक बत्तीको व्यवस्था सँगै उनले अन्य विकासे काममा पनि लगानी गर्ने संकेत दिएका छन्। अधिकारीले सडक मर्मत, ढल व्यवस्थापन, शिक्षा र युवाहरूको स्वरोजगारका क्षेत्रमा काम गर्ने योजना बनाएको जानकारी दिएका छन्। यसरी उज्यालोले भरिएको उक्त क्षेत्र अब लव अधिकारीको पहलले मात्र होइन, सम्भावित नेतृत्वको एउटा उदाहरणका रूपमा पनि हेरिन थालेको छ।
















Discussion about this post