माघ १५ गते। ह्युमन प्यापिलोमा भाईरस (एच.पी.भी) खोप अभियान सम्बन्धमा जिल्ला स्तरिय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रममा महोत्तरी जिल्ला भरी लगभग ४५ हजार किशोरीमा उक्त खोप लगाइने लक्ष्य रहेको जनाइको छ । ह्युमन प्यापिलोमा भाईरस विरुद्धको खोपको प्रभावकारिता र खोप अभियानलाई प्रभावकारी रूपले संचालन गर्न बनाईएको योजना,स्वास्थ्यकर्मी र स्वयंसेवक व्यवस्थापन तथा वितरण प्रक्रियाका विषयमा उक्त अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालयले जनाएको थियो ।
उक्त कार्यक्रममा जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनारले खोप अभियान लाई प्रभावकारी रुपमा जनस्तरमा पुरयाउन र विद्यालय तथा विद्यालय बाहिर क्षेत्रमा रहेका कोही किशोरी नछुट्ने गरि अभियानलाई सफल बनाउन जलेश्वर नगरपालिकाले आवश्यक हरेक सहयोग गर्ने नगरप्रमुखले प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार,महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने,स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर साह, सुरक्षा निकायका प्रमुख,सञ्चारकर्मी लगायत स्वास्थ्य कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी माघ २२ गतेदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप निःशुल्क प्रदान गर्ने योजना बनाएको छ। यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई समेट्ने लक्ष्य राखिएको छ।
Discussion about this post