मङ्सिर ११ गते। विगत एक हप्ताभन्दा बढी समयदेखि बन्द रहेका जनकपुरधामका शैक्षिक संस्थाहरू आज मंगलबारदेखि सञ्चालनमा ल्याएका छन । जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा सोमबार बसेको वृहत् बैठकले मंगलबारदेखि विद्यालय सञ्चालन गर्ने सहमति गरेका थिए ।
संघका सचिव नरेन्द्र बिक्रम साहका अनुसार छात्रवृत्तिको विषयलाई समाधान गर्न एक महिनाभित्र समिति गठन गर्ने निर्णय भएको बताए ।सचिव साहले जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा सम्बन्धी कार्यविधि बनाउन ७ वा ९ सदस्यीय समिति गठन गरिने र ३० दिनभित्र कार्यविधि निर्माण गरिने सहमति भएको बताए। समितिमा नीजि विद्यालयका संगठन, विद्यार्थी संगठन, जनकपुरधाम उपमहानगरपालिका, र नागरिक समाजका प्रतिनिधिहरू रहनेछन्।
जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा भएको सर्वपक्षिय बैठकमा समस्या समाधानका लागि जनकपुरधाम उपमहानगरपालिकाले ३० दिनको समय निर्धारण गरेको छ । सोमबार भएको बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, नेविसंघ, अनेरास्ववियू, हिसान, प्याबसन, एनप्याबसन, व्यापारी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाका निमित कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्णले ३० दिन भित्र छात्रावृत्तिलगायतका समस्याहरु समाधान हुने बताए । एक महिना भित्रै शिक्षामा देखिएका सबै सुधारका लागि कार्यविधि बनाइने समेत निर्णय भएको उनले बताए । नीजि विद्यालयका संगठन हिसान, एनप्याब्सन, प्याब्सन, एमप्याब्सन, र नेपाल प्याब्सनले छात्रवृत्ति, शैक्षिक नीति, र अन्य मुद्दामा दबाब दिनका लागि एक हप्ताभन्दा बढी समयदेखि विद्यालय बन्द गरेका थिए।
Discussion about this post