असोज १९ गते। बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिन्छ ।
दुःख-कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद हामीमाथि सधैंभरि रहन्छ भन्ने कुरा बताइएको छ । शारदीय नवरात्रको तेस्रो दिन आश्विन शुक्ल तृतीया हो। यस दिन दुर्गा भवानीका नौ रूपमध्ये चन्द्रघण्टाको पूजा आराधना गरिन्छ। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको बताइछ। चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
चन्द्र र घण्टा शब्द मिलेर चन्द्रघण्टा शब्द बनेको छ। शिरमा अर्धचन्द्र आकारको घण्टा धारण गरेकी हुनाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको हो। चन्द्रघण्टा सुनौलो र चम्किलो वर्णकी, दश हात भएकी, सेता पुष्पको माला पहिरेकी, हातमा खड्ग, गदा, त्रिशूल, धनुर्बाण आदि शस्त्रअस्त्र लिएकी, सिंहमा सवार हुने देवी हुन्। यिनको हाउभाउ क्रुद्ध र युद्धका लागि तम्तयार भएको जस्तो देखिन्छ।
घण्टा देवीको प्रिय वाद्य हो। त्यसैले देवीको पूजामा घण्टाको विशेष महत्त्व छ। घण्टाबाट मधुर र मन एकाग्र गर्ने ध्वनि निस्कन्छ। त्यसैले चन्द्रघण्टालाई स्वरकी स्वामिनी पनि मानिएको छ। यिनले सेवकका लागि घण्टाको मधुर ध्वनि प्रदान गर्छिन् भने आसुरी स्वभावका दुष्टहरूका लागि प्रचण्ड ध्वनि प्रदान गर्छिन्। युद्धमा यिनको उग्र अट्टहास र हृदयभेदी शङ्ख–घण्टाको ध्वनिले दैत्य–दानवहरू मूच्र्छित भएका प्रसङ्ग पुराणहरूमा वर्णित छन्। सेवकका लागि भने यिनी सुमधुर स्वर, संगीत र कलाकी स्रोत हुन्। स्वरसाधक, संगीतकर्मी र कलाकारले यिनको उपासना गर्नाले आफ्नो अभीष्ट प्राप्त गर्छन्। दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको विशेष घुइँचो लाग्छ ।
Discussion about this post