जनकपुरधाम/असोज १५ गते। जनकपुरधामको मुख्य शक्तिपीठ माँ राजदेवी मन्दिरमा हरेक वर्ष आयोजना गरिने दशैं मेलाको तयारी यस वर्ष पनि श्री महावीर युवा समितिले भव्य रूपमा पूरा गरेको छ। मन्दिरको प्रांगणस्थित समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष अजय गुप्ताले विभिन्न दर्जनौं समितिहरू बनाइ विधि, पूजा पाठ, मेला तथा भिड व्यवस्थापनका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए।समितिका अनुसार यस वर्ष दश वर्षदेखि कायम रहेको बोकाबलीको टिकट दर २०० बाट बढाएर ३०० रुपैयाँ कायम गरिएको छ। अध्यक्ष गुप्ताले हरेक बोकाबलीमा सहभागी श्रद्धालु र उनका परिवारका लागि निःशुल्क भोजनको पनि व्यवस्था गरिएको बताए।गुप्ताले विगतका वर्षहरू भन्दा उत्कृष्ट सजावट र तयारीका साथ यो वर्षको मेला आयोजना गर्न लागेको जानकारी दिँदै भने, “नेपालकै सबैभन्दा बढी भीड हुने ऐतिहासिक मेला हामीले ३४ वर्षदेखि आयोजना गर्दै आएका छौं। तर, अहिलेसम्म कुनै पनि सरकारले यसलाई आफ्नो भनेर स्वीकार्न चाहेको छैन। हामी सबै निशुल्क गरिदिन्छौं, तर सरकारले यस मेलालाई अपनत्व लिन सकेको छैन। सबै दाताहरू र माँ राजदेवीप्रतिको आस्थाले यो मेला चलिरहेको छ, राज्यले सहयोग गरे हामी किन पैसा लिने?”जनकपुरधामको विशेषता दर्शाउने रामनवमी, जानकी नवमी जस्ता मेलाहरू लोप हुँदै गएको सन्दर्भमा यस भव्य दशैं मेला बचाउन सबैले सकारात्मक रूपमा सोच्नुपर्ने समितिको भनाइ छ। समितिले मधेशका विभिन्न स्थान र शक्तिपीठमा यस मेलाको भव्यता हेरेर त्यहाँ पनि यस्तै भव्यता थपिएकोमा सफलता रहेको दाबी गरेको छ। यो वर्ष सरसजावटमा करिब ५० लाख खर्च हुने जानकारी गराए।
पत्रकार सम्मेलनमा महासचिव चन्दन नागवंशी, कोषाध्यक्ष चन्दन राज शर्मा र पूर्व अध्यक्ष विनोद चौधरीको उपस्थिति रहेको थियो।
Discussion about this post