बैशाख १५ गते। आइपिएल टिम पञ्जाब किंग्सले इतिहास रचेको छ । आईपीएलको १७ सिजनको इतिहासमा मात्रै नभई टी–२० को इतिहासमा पनि सबैभन्दा ठूलो रन चेज गरेर पञ्जावले नयाँ किर्तिमान बनाएको हो ।
गएराती सम्पन्न खेलमा कोलकोता नाइट राइडर्सले दिएको २६२ रनको लक्ष्य १८.४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यो आइपिएल इतिहासमा अमत्र नभएर समग्र टी-२० क्रिकेटमा अहिलेसम्मको सबैभन्दा सफल चेज हो । पञ्जाबको जितका नायक जोनी बेयरस्टो, शशांक सिंह र प्रभसिमरन सिंह बनेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । फिल साल्टले ३७ बलमा ७५ रन र सुनिल नारायणले ३२ बलमा ७१ रन बनाए । जवाफमा प्रभासिमरन सिंहले २० बलमा ५४ रनको इनिङ खेल्दै पञ्जाबलाई आक्रामक सुरुवात दिलाए । यसपछि जोनी बेयरस्टोले ४८ बलमा १०८ रन र शशांक सिंहले २८ बलमा ६८ रनको अविजित इनिङ खेल्दै पञ्जाबलाई जित दिलाए । यस खेलमा ४२ छक्का प्रहार गरिएको थियो, जुन आईपीएलको इतिहासमा कुनै पनि खेलमा सबैभन्दा बढी हो ।
यसअघि गतबर्ष दक्षिण अफ्रिकाले वेस्ट इन्डिजले दिएको २५९ रन चेज गरेको नै यस अघि धेरै रन चेजको रेकर्ड थियो । यो जितसँगै पन्जाब नौ खेलबाट तीन जित र छ हारसहित ६ अंकसहित आठौं स्थानमा उक्लिएको छ । योसँगै कोलकाताको टोली दोस्रो स्थानमा छ । उसको आठ खेलमा पाँच जित र तीन हारसँगै १० अंक छ ।
आइपिएल अन्तर्गत आज दुई खेल हुदै छन् ।आज पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच हुदै छ । दिल्लीमा हुने यो खेल अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ९ खेलमा ४ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । दिल्ली क्यापिटल्स अहिले ८ अंकसहित छैटौं स्थानमा छ ।त्यस्तै मुम्बई इण्डियन्सले ८ खेलमा ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । मुम्बई इण्डियन्स ६ अंकसहित आठौँ स्थानमा रहेको छ ।
त्यसैगरी आज दोस्रो खेल लखनउ सुपर जाइन्ट र राजस्थान रोयल्स खेल्दै छन् । लखनउमा हुने यो खेल आज राति ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा लखनउले ८ खेलमा ५ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । लखनउ अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै राजस्थान रोयल्सले ८ खेलमा ७ जित हासिल गरेको छ र एक खेलमा हार बेहोरेको छ । १४ अंकसहित राजस्थान अहिले शिर्ष स्थानमा रहेको छ ।
Discussion about this post