धनुषा/फागुन २० गते। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित जनकपुरधाम–जलेश्वर सडक खण्डको बिन्धीमा भएको स्कुल बस दुर्घटनामा २ जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार उक्त दुर्घटनामा २ जनाको मृत्यु र अन्य ६ जना घाइते भएका छन् भने स्थानीय ३५ वर्षीया राखि यादव र ५८ वर्षीया देवकली देवी साहको मृत्यु भएको छ ।
दुर्घटना पछि आक्रोशित स्थानीयले चालकले रक्सी खाएर बस चलाएकाले दुर्घटना भएको भन्दै प्रदर्शन गर्दै चक्काजाम गरेका थिए। यद्दपी प्रहरीले बल प्रयोग गरेर अवस्था नियनत्रणमा लिएको डिएसपी अवाको भनाइ छ । उनका अनुसार भिडलाई नियन्त्रणमा लिन प्रहरीले करिब एक दर्जन राउण्ड आश्रु ग्यास प्रहार गर्नुका साथै लाठी चार्ज समेत गरेको छ ।अहिले सडक संचालनमा आइसकेको प्रहरीले जनाएको छ ।
जनकपुरस्थि एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलबाट विद्यार्थी ल्याउन जलेश्वरतर्फ जाँदै गरेको बस आइतवार विहान दुर्घटनामा परेको थियो ।स्थानीय राखिदेवी यादवकी नन्दको विवाहका लागि महिलाको एक समुह मटकोर विधिका लागि माटो लिन खेततर्फ जाँदै थिइन् ।त्यस क्रममा तिब्र गतिमा आउँदै गरेको बसले ती महिलाको समुहलाई नै ठक्कर दिएको थियो । आज मृतक राखिको नन्दको विवाह कार्यक्रमको उल्लासपुर्वक तयारी भइरहेको थियो ।उनको घरमा एकातर्फ जन्तीको स्वागतको तयारी हुँदै थियो भने अर्कोतर्फ गाउँले सहितका लागि भोजभात हुँदै थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post