जनकपुरधाम/फागुन १४ गते। जनकपुरधाममा फागुन १९ गते देखि दोस्रो इन्टर कलेज टि–२० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । 
सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै धनुषा जिल्लामा खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको र आगामी शनिबारदेखि दोस्रो इन्टर कलेज क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको न्यू भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साहले जानकारी दिए। प्रतियोगिता न्यू भिजन नेपाल र जनकपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा हुन लागेको हो।
क्रिकेट खेलको विकासका लागि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक सातापछि कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको छ। कूल १६ वटा टिमको सहभागिता रहने सो प्रतियोगिता लिग चरणको आधारमा खेलाउने र फाइनल चैत्र १० गते हुने पनि अध्यक्ष साहले जानकारी दिएको छ ।
जनकपुरधामको १२ विघा रंगभूमि मैदानमा हुने सो प्रतियोगिता १५ वर्षभन्दा माथि २३ वर्ष मुनिका खेलाडीहरू सहभागी रहने छन् । प्रतियोगितामा छनौट चरण, क्वाटरफाईनल सेमिफाइनल तथा फाइनल गरेर चार चरणमा प्रतियोगिता गराइने भएको पनि आयोजकले जनाएको छ । 
यस प्रतियोगिता लगतै क्लब तथा जिल्ला स्तरीय प्रतियोगिता गरेर क्रिकेटको नयाँ खेलाडीको पहिचान गरेर उनीहरूको थप क्षमताको विकास गर्ने लक्ष्य रहेको प्रतियोगिताका संयोजक साहले जानकारी दिनुभयो ।
मधेश प्रदेश क्रिकेटका कप्तान हरिशंकर साहले यस्ता प्रकारको प्रतियोगिताले खेलको विकासमा मद्दत पुग्ने बताउनुभयो । उहाँले यस्ता प्रकारको प्रतियोगिताहरू निरन्तर रुपमा भएको खण्डमा खेलको विकासमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।प्रतियोगितामा कलेजहरुले पढिरहेका विद्यार्थीहरुलाई मात्र सहभागी गराउन पाउने र कलेजभन्दा बाहिरको खेलाडी खेलाएमा टिमलाई प्रतिबन्ध लगाउन सक्ने आयोजकले जनाएको छ। प्रतियोगितामा करिब ९ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ।
















Discussion about this post