जनकपुरधाम/मंसिर ३० गते। विवाहपञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन आज मटकोर विधि सम्पन्न भएको छ। जनकपुरधामस्थित गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको छ।
सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी अन्तर्गत आज (शनिबार) जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित विहेको वेदी बनाउन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए । पोखरीबाट जानकी मन्दिर भित्रियाइएको माटोले सीताराम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ।
मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले प्रत्येक दिन आयोजना गर्ने गंगा आरतीको समेत आयोजना गरेको थियो। सो अवसरमा जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णव लगायत श्रद्धालुहरुको सहभागिता रहेको थियो।
सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र शनिबार पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ।
महोत्सवको छैठौँ दिन आइतबार स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन सोमबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।

















Discussion about this post