मधेश प्रदेशले केपी ओली कप टि२० क्रिकेटको उपाधि जितेको छ।पोखरामा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै केपी ओली कप टि२० क्रिकेटको उपाधि जितेको हो। यो मधेश प्रदेशले जितेको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता समेत हो।
यस अघि मधेश प्रदेशले जितको लागि दिएको १ सय ३६ रनको विजयी लक्ष्य पछ्याउन नसकिआर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन मात्र बनायो र खेल ११ रनले हार्न पुग्यो ।आर्मीका लागि विवेक यादवले १४ बलमा २ चौका र २ छक्कासहित २५ र सोमपाल कामीले १५ बलमा आउट नभई १६ रन बनाए।भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए।आर्मीका कप्तान विनोद भण्डारीले ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए।
मधेश प्रदेशका लागि हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए। प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । त्यसैगरी प्रतिक यादवले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए।
यस अघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियाे।
मधेश प्रदेशका लागि विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए। त्यसैगरी हरिशंकर शाहले २१ बलमा ३ चौका र २ छक्कासहित २७ रन बनाए ।त्यसैगरी अनिलकुमार शाह ६, इमरान शेख ८, पवन सरार्फ ९, मयन यादव ३, हिमान्शु दत्त १४ र विशाल शुश्लिङ १० रनमा आउट भए ।
आर्मीका साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।

















Discussion about this post