मंसिर ८ गते। छाडा छोडिएको राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ ।
रौतहटको कटहरिया नगरपालिका–९ डुमरियाका ७० वर्षीय बतहु राय यादवको राँगाको आक्रमणबाट शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी रौतहटका डीएसपी दामोदर केशीले जानकारी दिए । बुधबार साँझ घरमै बसिरहेका यादवलाई राँगाले आक्रमण गरेको थियो ।
उनको छाती र हातखुटामा चोट लागेर उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो । उपचारकमै क्रममा यादवको मृत्यु भएको प्रहरीले जनायो । यसअघि उक्त राँगाको आक्रमणमा परी १ दर्जन स्थानीय घाइते भएका थिए ।स्थानीय समाजसेवी बच्चालाल यादवका अनुसार आक्रमणबाट राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत १ दर्जन बढी मानिस घाइते भएका हुन् ।
राँगा नियन्त्रणमा लिन स्थानीयले जनप्रतिनिधिलाई अनुरोध गर्दै आएका छन् । घटना भएको गाउँमा शुक्रबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सहितको सुरक्षा अधिकारीको टोली पुगेर अवस्थाको जानकारी लिएको छ ।

















Discussion about this post