काठमाडौं/बैशाख २२ गते । आज २५६७ औँ बुद्ध पूर्णिमा महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् । सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।
इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो । राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार त्यागेर दरबारबाट ज्ञानको खोजीमा निस्किएका थिए ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इशापूर्व ५२८ मा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि बुद्धका रुपमा उनले विश्वप्रसिद्धि पाए ।
३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका बौद्ध दर्शनको खोज–अनुसन्धानमा लागेका सिद्धार्थले बुद्धत्व प्राप्तिपछि आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् ।
बुद्धले दिएका उपदेशमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो ।
जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन् । यसैगरि, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् ।





















Discussion about this post