फागुन २२ गते । होली रङ्ग अबिरको पर्व हो । फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ । त्यसैले यो वियज र उल्लासको पनि पर्व मानिन्छ । फागु, होली जस्ता नामसँगै यसलाई रंग र अबिरसँगै स्थानपिच्छे मनाउने फरक फरक शैलीहरु छन् भने यसको सुरुवात कसरी भयो भन्ने अनेकौं रोचक किंवदन्तीहरु पनि प्रचलित छन् ।
नेपालको पहाडी र हिमाली क्षेत्रमा सोमबार रङ्ग खेलेर मनाइँदै गरेको फागु पर्व अर्थात् होली तराईमा भने मंगलवार मनाइँदैछ । असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा मनाइने यो पर्वलाई विभिन्न स्थान र परिवेश विशेषमा फरकफरक नामले चिनिने संस्कृतिविद्को भनाइ छ ।
रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।
यो पर्वबारे पुराणहरू र प्राचीन संस्कृत साहित्यमा पनि उल्लेख भएको जानकारहरू बताउँछन् । तर होली पर्वका बेला विभिन्न खाले विकृति निम्तिएको र जबरजस्ती रङ्ग दलिदिने तथा लोला हान्ने प्रवृत्ति कायम रहेको भन्दै चिन्ता व्यक्त गर्नेहरू पनि छन् । काठमाण्डू उपत्यकासहित देशैभरिका स्थानीय प्रशासनले सौहार्दपूर्ण रूपमा होली मनाउन आग्रह गर्दै कसैलाई अनावश्यक दुःख दिइए कारबाही गर्ने चेतावनी दिएका छन् ।
काठमाण्डौं र उपत्यकाको होली
रमाइला नेपाली पर्वहरूमध्येको एक पर्व होली यसपाली सोमबार पहाडी क्षेत्रमा मनाइएको छ र मंगलबार तराई क्षेत्रमा मनाइने छ । बालबालिका देखि वृद्धवृद्धासम्मले रमाइलो गरेर मनाउने यो पर्वको विविधता नेपालको विशेषता हो ।
वैमनस्य त्यागेर सद्भाव फैलाउने पर्व हो अहिलेको होली । तर होली खेल्न बलजफ्ती गर्ने र नचाहनेलाई जबरजस्ती रंग लगाउनेमाथि कारबाही हुने प्रहरीले जनाएको छ । काठमाण्डौंको ठाउँठाउँमा साङ्गीतिक कार्यत्रम समेत गरी आयोजना गरिएको होली पर्वमा नागरिकहरु गीत, संगितसहित नृत्यमा रमाउँदै छन् ।
टोल टोलमा मात्रै नभई कुनै विशेषस्थानलाई नै भाडामा लिएर सामुहीक रूपमा होली मनाउने प्रचलन पनि नयाँ होलीको विशेषता हो । काठमाण्डौं उपत्यकमा विभिन्न साङ्गीतिक कार्यक्रमहरू आयोजना गरेर होली मनाइएको छ । त्यस्तै अन्य दिनको तुलनामा विशेषगरी सहरी क्षेत्रमा बढी मात्रामा सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा होली र फागु एकै पर्व हुन् वा भिन्न हुन् भनेर प्रश्न सोधिएको र तर्क गरिएको पनि देखिएको छ ।
पृथक मिथिलाञ्चलको फागु
यो मदनोत्सव हो । अनि यसमा मानिसहरु मदमत्त हुन्छन् । वसन्त पञ्चमीको दिनदेखि डंफ र मजीराका साथ होलीका गीत गाउने होलैताहरु तयार हुन्छन् । यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ । पूर्णिमाको राति होलीका गीतहरु (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ ।
फागुका दिन रङ्ग–अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ’जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ’चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ । पहिले पहिले गाउँघरमा दुध र मसलामिश्रित भाङ तयार हुन्थ्यो । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे ।
होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी विदा गरिन्थ्यो । भाङलाई अहिले मदिराले विस्थापित गरेको छ । तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रङ्ग चढाएर र आफ्ना परिवारका सदस्यसँग रङ्ग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ ।
होलीमा रमाउँदै विदेशीहरू
फागुपुर्णिमा अर्थात् होलीको अवसरमा नेपालीहरु मत्र होइनन्, विदेशीहरु पनि खुलेर होलीको उत्सवमा होमिएका छन् । आफैँमा विशिष्ट रहेको फागुपर्व नेपालमा घुम्न आउने हजारौं विदेशी पर्यटकहरुका लागि उल्लासमय बनिरहेको राजधानी काठमाण्डौं, पोखरा र आसपासमा देख्न सकिन्छ ।
होलीको अवसरमा विदेशीहरु नेपाल आउने गरेका छन् । आन्तरिक र बाह्य पर्यटकलाई रङमा रंग्याउन काठमाण्डौंको वसन्तपुर, ठमेल मात्र होइन, पोखरामा विभिन्न कार्यक्रमको तयारी भइरहेको छ । अघिल्ला वर्षझैँ विदेशी तथा स्वदेशी पर्यटकलाई खानासँगै रङको स्वाद चखाउन होटल तथा रेस्टुरेन्टका आ–आफ्नै योजना छन् ।
पोखरामा हरेक वर्ष होली भव्य हुने गर्छ । होली विशेष कार्यक्रममा विदेशीले फेस पेन्ट, रङ तथा पानीमा छ्यापाछ्याप गर्ने दृश्य रमाइला लाग्छन् । हातमा अबीरका पोका बोकेर विदेशीसमेत नेपालीसँगै बाटोमा होली खेलिरहेको यहाँ देख्न सकिन्छ ।
होली पर्वको उल्लेख कुन ग्रन्थमा छ ?
संस्कृतिविद् प्राध्यापक वीणा पौड्यालका भनाइमा होली विशेषगरी हिन्दू शास्त्रहरूमा उल्लेख भएको पर्व हो । त्यसैले होली शास्त्रीय पर्व भएको उनको मत छ । ‘विभिन्न पुराणहरूमा यसको उल्लेख छ । पछि महाकाव्यहरू जस्तै महाभारत र रामायणमा पनि उल्लेख भएको पाइन्छ’, उनले भनिन् ।
‘लिङ्गपुराण, वराहपुराणमा पनि यसको उल्लेख छ । यो शास्त्रीय पर्व हो ।’ पौड्यालका भनाइमा जैमिनि ऋषिद्वारा रचित तथा मीमांसा दर्शनको आरम्भ भएकोमध्येको मानिने ‘पूर्वमीमांसासूत्र’मा पनि होलीबारे उल्लेख भएको पाइन्छ ।














Discussion about this post