अरुण कुमार यादव/सप्तरी/कात्तिक ३ गते।लगातारको बर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक र ८ चौपाया वेपत्ता भएका छन् ।
अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बाट आज एक युवक वेपत्ता भएका छन ।
तिलाठीबाट रमपुरा मल्हनियातर्फ जाने बेलामा सोही नगरपालिका–९ का २३ वर्षीय लालु भन्ने जितेन्द्र मण्डल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उक्त खोलामा आएको बाढीले कटान गरेको सडक तर्ने क्रममा उनी बेपता भएको प्रहरीले जनाएको छ ।त्यस्तै मण्डलसँगै खालामा बगेका सोही ठाउँका २८ वर्षीय संजिव कुमार मण्डल भने खोला तरेर कटानबाट बच्न सफल भएको प्रहरीले जनाएको छ ।झण्डै ६५ मिटर कटान भएको सो सडक भएर जाने क्रममा बेपता भएका लालुको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
बाढीले आठ चौपाया पनि बगायो
निरन्तरको बर्षाले आएको बाढीले सप्तरीमा आठ वटा चौपाया पनि बगाएको छ । सप्तकोशी नगरपालिका ९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा गाई बस्तुहरु चराएर फर्किने क्रममा पौडाहा खोलामा आएको बाढीले ७ जनाको ८ वटा चौपाया बगाएको प्रहरीले जनाएको छ ।
कंचनरुप नगरपालिका ५ पिप्रा पूर्वका चतुरदेव तमाङगको १ बाछा, रामानन्द चौधरीको १ गाई, सुखी चौधरीको १ बाछा, नरेश चौधरीको १ बाछी, वैकप सदाको २ बाछा, सुरेन्द्र चौधरीको १ गाई र धन सदाको १ बाछी बाढीले बगाएको प्रहरीले जनाएको छ ।















Discussion about this post