किरण कर्ण/धनुषा/साउन ५ गते।धनुषा–सिरहाको सिमाना पर्ने कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेको छ । सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका वडा नम्बर १३ स्थित किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान भएपछि समस्या उत्पन्न भएको हो । बाढीका कारण नदीको ६ सय मिटर बाँध समेत जोखिममा परेको छ । बाढीका कारण हुनसक्ने सम्भावित जोखिमबाट स्थानीयहरूलाई स्थानीय प्रशासनले सतर्क गराएको छ ।
धनुषाको किरतपुर र ढोलबज्जामा कमला नदीको बाढीले बाँध कटान गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले जानकारी दिए । बाढीले धनुषाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका ग्रामीणहरू डुबानमा पर्ने खतरा छ । वर्षातको बाढीले प्रत्येक वर्ष झैँ यस वर्ष पनि अधिकांश गाउँहरू डुबानमा पर्ने सम्भावना छ ।
बाढीको बहावले कमला नदीको बाँध कटान गर्न थालेको जानकारी पाएलगत्तै पूर्वमन्त्री मातृकाप्रसाद यादवले सोमबार नै स्थलगत निरीक्षण गरेका थिए ।

निरीक्षण पछि पूर्वमन्त्री यादवले तत्कालै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईलाई प्रभावित क्षेत्र तथा कटान गरिरहेको कमला नदीको बाँधको निरीक्षण गरी तत्कालै यसलाई नियन्त्रण गर्नतर्फ काम गर्न निर्देशन दिएका थिए ।
मंगलबार बिहान धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोला र कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख भट्टराई सहितको टोलीले कटान क्षेत्रको निरीक्षण गरे । निरीक्षण पछि भट्टराईले अर्थ मन्त्रालयले विपद् नियन्त्रण गर्ने आपत्कालीन बजेट कटौती गरेका कारण बाँध बचाउन समस्या भएको र आफूसँग कटान क्षेत्रमा बाँध बचाउन र मर्मत गर्न बजेट समस्या भएको जवाफ दिएपछि पूर्वमन्त्री यादवले अर्थमन्त्री जनार्दन शर्मा तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग कुराकानी गरेका थिए ।
अर्थमन्त्री शर्माले बाँध बचाउन तत्कालै ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी गराएको पूर्वमन्त्री यादवले रातोपाटीसँग कुराकानी गर्दै जानकारी दिए । बाँध बचाउन तत्कालै काम सुरु गर्न अर्थमन्त्री शर्माले आग्रह गरेको र आवश्यकता परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको पूर्व मन्त्री यादवले बताए ।
यता बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुनसक्ने सम्भावित क्षेत्र तर्फ प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए । उनले बाँध मर्मतका लागि तत्काल नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरिएको बताए ।साभार-रातोपाटी अनलाईन बाट














Discussion about this post