सजिलो पोस्ट । आजबाट मिथिलाञ्चलमा जितिया पर्व सुरु भएको छ । यो पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाउने प्रचलन छ । अश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म गरी तीनदिनसम्म मनाउने गरिएको छ । जितियाको अघिल्लो दिन नजिकको इनार, जलासयमा स्नान गरेर महिलाहरुले जितियाको सुरुवात गर्ने गर्दछन् ।
आजका दिन ‘महिलाहरु निर्जला’ अर्थात पानी समेत नखाई २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहीआएको छ ।विशेष गरी यस दिन ब्रत बसेका महिलाहरु जितमहानको कथा सुन्ने गर्दछन् । जितमहानले गुफा भित्र छिर्ने र निस्कने खेलमा आफ्नो बुवाको नाम थाहा नपाउँदा साथीहरुसँग पराजित भएर बुवालाई भेट्न जादा सूर्य देवता साक्षात्कार भइ वरदान दिएको धार्मिक कथन रहेको छ ।
यसरी मनाईन्छ जितिया पर्व
व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रतालु महिला ओठगन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओठगनमा च्युरा, दही खाने गरेको पाइन्छ । त्यसपछि विकट उपवासका क्रम सुरु हुन्छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष विकट रहेको बुझिन्छ ।
सन्तानको दीर्घ जीवन, पुत्रप्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक तथा महत्वसमेत छ ।उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने पनि व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खर जितिया पनि भनिन्छ । जितिया पर्वको मुख्य उद्देश्य मोहप्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको धारणा पाइन्छ । यस पर्वबारे एउटा भनाइ यसप्रकार छ ः
जितिया पावनी बड भारी
धियापूताके ठोकी सुतौलनी
अपने खयलनी भरि थारी
यसको अर्थ हो, जितिया पर्व धेरै ठूलो छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर, वास्तविकता त्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताका क्रममा गरिने चरणको कार्य मात्र हो । यस व्रतमा व्रतीले दिनरात उपवासमा बस्नुपर्ने भएकाले ओठंनमा छाकभरी भोजन गर्छन् । महिलाले व्रत–उपवास गर्नुभन्दा पहिला नै खाने गरेकाले नै होला, यस व्रतका सन्दर्भमा माथि उल्लेख गरिएको भनाइको चलन भएको विश्वास गरिन्छ । ।
पौराणिक कथन अनुसार- राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बसेर यो व्रत सुरु भएको हो ।
जिमुतवाहन को हुन् ?
भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको सीमकृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।
चिल र स्यालको पनि पूजा ः हिन्दूधर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ । सोहीअनुरूप गाई, नाग, परेवा, काग, कुकुर, गोरु, हाँस, बाघ, मुसोलगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ ।
जितिया पर्वको कथा
पुरानाे कथा छ, नर्मदा नदीको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो र उक्त ठाउँमा राजा मलायकेतुले राज गर्थे । खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो । त्यही किनारमा एउटा पाखैरको रुख थियो जसमा पोथी चील बस्थी । चील बस्ने रुखमुनी पोथी स्याल बस्थी ।
उनीहरुले मित्रता गरे । एकदिन जंगलका अरुलेजस्तै उनीहरुले पनि भगवान जीतवाहन गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे । तर, संयोगवश सोही दिन उनीहरु बस्ने मरुभूमिको छेउमा रहेको शहरको धनी व्यापारीको मरेको छोरालाई जलाउन ल्याउँछन् । पानी अत्यधिक परेका कारण मलामी आएकाहरु लासलाई त्यतिकै छोडेर हिन्छन् ।
चीलले अरुले जस्तै व्रत कायम राखे पनि पोथी स्यालले भने गाडेको लासको मासु सेवन गर्ने तीव्र थाम्न सक्दिन ।
अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि ब्राम्हण परिवारमा दिदी–बहिनीका रुपमा जन्मिन्छन् ।
चील अब शिलवती नामकी ब्राम्हण कन्याको रुपमा जन्म लिन्छे भने स्याल यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको विवाह राजा मलायकेतुसँग हुन्छ ।
शिलवतीको सात जना सुन्दर पुत्र हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु हुन्छ ।
शिलवतीका छोराहरुले राजा मलायाकेतुकोमा काम गर्न थाल्दछन् र ती केटाहरु आफ्नी दिदीका पुत्रहरु भएको थाहा पाएपछि स्यालबाट शिलवती बनेकी बहिनी कपुरवती रिसले चुर हुन्छे ।
राजालाई भनेर ती सातैजना शिलवतीका पुत्रहरुको हत्या गर्न लगाइ तिनको टाउकालाई रातो कपडामा बेरेर दिदीकोमा पठाउने षडयन्त्र गर्छे । तर, यो कुरा भगवान जीत महान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउँछन् । ती सातैजना पुत्रहरुलाई अमृत दिएर अमर बनाउँदै उनीहरुको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिदिन्छन् । यसरी रातो कपडाले बेरिएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ ।
यता, हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरुको मृत्युले रुवाबासी भइरहेको होला भन्ने अनुमान गरी एक सेविकालाई बुझ्न पठाउँछे । तर, शिलवतीको घरमा हर्ष उल्लास र खुसीयाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोच्दछन् ।
दिदीको खुसी सहन नसकेर अब कपुरवती दिदीको घर पुग्छे र सम्पूर्ण कुरा भन्छे । यसो भन्दैगर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ जहाँ उसले चीलको रुपमा भए पनि भगवान जीतमवाहन गोँसाईको व्रत बसेकी थिई । यो प्रशंग शिलवतीले बहिनीलाई भन्छे । यो सुनेर बहिनी कपुरवती बेहोस हुन्छे । लगत्तै उसको मृत्यु हुन्छ ।
यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षाका लागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।
जितिया पर्वलाई दशैँ आगमनको संकेतका रूपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ ।यसको एउटा भनाइ प्रसिद्ध छः
जितिया दशेँ दशमी, दशमी बीसे
सुकराति, सुकराति छवे छठी ।
यस भनाइले पनि जितिया सकिएको लगभग विजयादशमीको रौनकतालाई प्रष्ट गर्दछ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वका रूपमा बुझ्नु जरुरी रहेको सन्देश पनि दिने गरेको छ ।
Discussion about this post