जनकपुरधाम, साउन १५ गते । धनुषाको जनकपुर ढल्केबर सडक खण्डको लक्ष्मीनियाँ गाउँपालिकाको वडा नम्बर ४ सपहीमा आज(शुक्रबार) बिहान पिकअप गाडी खाल्डोमा खसेर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ सपहीमा बनाइएको डाइभर्सनमा प्रदेश २ को ज-२०-०२-०००१ ख ००३५ नम्बरको पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । पुल बनाउनका निम्ति बनाइएको डाइभर्सनतिर नमोडिई खाल्डोमा खस्दा पिकअप चालक महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल जनकपुरधामममा उपचारका क्रममा ज्यान गएको सुनारले बताए ।
उक्त दुर्घटनामा दीपकका ३८ वर्षीया श्रीमती ऋचा यादव, १३ वर्षीय छोरा गेहेन्द्र यादव, ३९ वर्षीय भाइ नवीन, नवीनकी ३३ वर्षीया श्रीमती अम्बिका र मटिहानी नगरपालिकाका ४५ वर्षीय त्रिलोक यादव घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ढल्केबरबाट जनकपुरतर्फ तीव्र गतिमा आइरहेको पिकअप खाल्डोमा खसेको हो ।





















Discussion about this post