जनकपुरधाम/असोज २० गते । दलित समुदायको अधिकार, सम्मान र सशक्तीकरणका विषयमा आयोजित तीनदिने ‘डिग्निटी डिफेन्डर्स’ तालिम जनकपुरधाममा सम्पन्न भएको छ ।
सोमबार आयोजित तालिमको समापन कार्यक्रममा बोल्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री रामलखन दासले दलित समुदायको मुक्ति र अधिकार सुनिश्चित गर्न सर्वहारा वर्गको आन्दोलन आवश्यक रहेको बताएका छन् ।
मन्त्री दासले सरकारलाई सही बाटो देखाउने अधिकार दलित समुदायसँग पनि रहेको उल्लेख गर्दै अधिकारका लागि आवाज उठाउनुका साथै प्राप्त अधिकारको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए ।
दलित समुदायबाट आफू मन्त्री बनेपछि समुदायका अपेक्षा पूरा गर्ने जिम्मेवारी थपिएको बताउँदै उनले दलित उत्थानका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाएको जानकारी दिए । उनका अनुसार लोकसेवा तयारीका लागि बजेट विनियोजन गर्नुका साथै खानेपानी तथा शौचालय व्यवस्थापनका योजनासमेत सञ्चालनमा ल्याइएको छ ।
मन्त्री दासले दलित युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले ‘एक घर, एक दलित, एक रोजगार’ कार्यक्रम ल्याउने घोषणा गरे । कार्यक्रममा दलित युवालाई विभिन्न सीपमूलक तालिम प्रदान गरी सोहीअनुसार रोजगारीको अवसर सिर्जना गरिने उनले बताए ।
त्यस्तै, दलित समुदायका लागि बिना धितो एक लाखदेखि पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था गरिने उनको भनाइ थियो ।
छुवाछूत, मन्दिर प्रवेशमा रोक तथा दलितमाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिने मन्त्री दासले बताए । दलित विकास समितिलाई विधेयक तयार गर्न निर्देशन दिइएको जानकारी दिँदै उनले विधेयक निर्माणपछि समितिका सदस्यहरूको सेवा–सुविधाको समेत व्यवस्था गरिने बताए ।
दलितमाथि हुने अन्याय र विभेदविरुद्ध पालिकास्तरसम्म संयन्त्र निर्माण गर्ने तथा दलित सशक्तीकरणसम्बन्धी विधेयक निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि मन्त्री दासले व्यक्त गरे ।
खेलकुदमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्दै उनले दलित बालबालिकाका लागि विशेष खेलकुद कार्यक्रम सञ्चालन गरिने बताए । यस्ता कार्यक्रमले बालबालिकाको बहुमुखी क्षमता विकासमा सहयोग पुग्ने उनको विश्वास थियो ।
दलित लाइफ म्याटर्स ग्लोबल एलायन्सका अध्यक्ष प्रदीप परियारले दलित सशक्तीकरणसम्बन्धी ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्दै देशभरका सबै स्थानीय तहमा लागू गर्नुपर्ने बताएका छन्। उनले दलित समुदायको अधिकार, समानता र सम्मानजनक जीवन सुनिश्चित गर्न स्थानीय तहदेखि नै कानुनी तथा संस्थागत व्यवस्था मजबुत बनाउन आवश्यक रहेको बताए।
दलित लाइफ म्याटर्स ग्लोबल एलायन्सका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न तालिममा सहभागीहरूले दलित अधिकार, सामाजिक न्याय, समानता र सम्मानजनक जीवन सुनिश्चित गर्न राज्य, समुदाय तथा सरोकारवालाबीच थप सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।















Discussion about this post