जनकपुरधाम/असोज १५ गते । मधेश प्रदेश भलिबल संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन बिहीबार जनकपुरधामस्थित अधिकृत संगममा सम्पन्न भएको छ।
संघका अध्यक्ष ज्ञानेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा मधेश प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी गुप्ता, परिषद्का सदस्यहरू, भलिबल खेलाडी, प्रशिक्षक तथा खेलकुद प्रेमीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लखन दासले मधेश प्रदेशमा खेलकुदको विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले स्वस्थ समाज निर्माण तथा युवाको व्यक्तित्व विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भलिबललगायत सबै खेलको प्रवर्द्धनका लागि सम्बन्धित संघ–संस्था, प्रशिक्षक तथा खेलाडीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले खेलाडीको प्रतिभा पहिचान, क्षमता विकास र प्रोत्साहनका लागि नियमित प्रतियोगिता तथा प्रशिक्षणको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। खेलकुदलाई केवल मनोरञ्जनका रूपमा नभई अनुशासन, स्वास्थ्य, नेतृत्व विकास र राष्ट्रको प्रतिष्ठासँग जोडिएको क्षेत्रका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
साधारण सभा तथा अधिवेशनमा मधेश प्रदेशमा भलिबल खेलको वर्तमान अवस्था, संघको आगामी कार्ययोजना, खेलाडीको प्रोत्साहन, प्रशिक्षण तथा प्रतियोगिताको व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो।
संघले प्रदेशका विभिन्न जिल्लामा भलिबल खेलको पहुँच विस्तार गर्दै नयाँ प्रतिभाको पहिचान र उत्पादनसँगै खेलाडीलाई आवश्यक अवसर उपलब्ध गराउने योजनालाई प्राथमिकतामा राखेको जनाएको छ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल भावसहित आयोजित साधारण सभा तथा अधिवेशनले मधेश प्रदेशमा भलिबल खेलको विकासलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ।















Discussion about this post