काठमाडौं/असोज १३ गते। लामो समयको विश्रामपछि अभिनेत्री रेखा थापा अभिनय क्षेत्रमा फर्किएकी छन् । रेखा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ ।
सोमबार अभिनेत्री रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर चलचित्रको रिलिज मिति तोकिएको हो ।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रले प्रदर्शन मिति तय गरेसँगै यसको प्रचारप्रसारलाई समेत गति दिने तयारी निर्माण पक्षको छ । घटस्थापनाका दिन चलचित्रको पहिलो गीत सार्वजनिक गरिने भएको छ ।
निर्देशक श्रेष्ठले निर्देशन गरेको ‘३६ को आँकडा’ को कथाको केन्द्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई राखिएको छ । चलचित्रमा रेखा थापा र पूजा शर्मालाई फरक भूमिकामा प्रस्तुत गरिएको छ ।
चलचित्रमा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ । सिनेमामा रेखाको जोडीका रूपमा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने पूजासँग अभिनेता पुष्प खड्का फिचर हुनेछन् ।
‘३६ को आँकडा’ मार्फत रेखा र निरुता सिंहले पनि लामो समयपछि सहकार्यलाई गरेका छन् । यी दुईले यसअघि चलचित्र ‘दुई पल’मा सँगै अभिनय गरेका थिए । निर्देशक श्रेष्ठ र अभिनेत्री रेखाले यसअघि ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’, ‘कसले चोर्यो मेरो मन’ जस्ता चलचित्रमा सहकार्य गरेका छन् ।














Discussion about this post