रौतहट/असोज १३ गते। रौतहटको गौर नगरपालिका–९ सिरसियामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय नारायण बैठा रहेका छन्। मंगलबार साँझ करिब ७ः४५ बजे गौरबाट हजमिनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर २२ एच ६१५९ को मोटरसाइकलले सडकमा उभिरहेका बैठालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित सर्वोत्तम अस्पताल पठाइएको थियो। तर उपचारकै क्रममा राति करिब ९ः४५ बजे बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका थिए। प्रहरीले चालकको पहिचान पर्साको वीरगन्ज घर भई हाल राजदेवी नगरपालिका–२ हजमिनियामा मामा घरमा बस्दै आएका करिब २२ वर्षीय अमित भगतका रूपमा गरेको छ।
फरार भगतको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी ब्रह्मपुरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
बैठाको शव पोस्टमार्टमका लागि मंगलबार राति करिब १२ः२० बजे प्रादेशिक अस्पताल गौर ल्याइएको थियो। शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।














Discussion about this post