रौतहट/असोज ११ गते। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा एक महिनाअघि आएको विनाशकारी बाढीमा परी वीरगञ्ज महानगरपालिका क्षेत्रका करिब १५ जना अझै बेपत्ता रहेको पाइएको छ।
बेपत्तामध्ये वीरगञ्ज–२७ कोहडीस्थित एउटै टोलका दुई किशोर तथा युवा रहेको जनाइएको छ। बाढीपछि लामो समय बितिसक्दा पनि आफन्तको अवस्था यकिन हुन नसकेपछि परिवारहरू गहिरो पीडामा छन्।
बेपत्ता परिवारको अवस्था बुझ्न वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह शनिबार पीडित परिवारको घरमै पुगेका छन्। उनले परिवारजनसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था, पीडा र समस्याबारे जानकारी लिएका हुन्।
भेटका क्रममा मेयर सिंहले आफन्तको अवस्था अज्ञात रहँदा परिवारले भोग्नुपरेको पीडा अत्यन्त संवेदनशील रहेको बताएका छन्। उनले दुःखको यस घडीमा महानगरपालिका बेपत्ता परिवारको साथमा रहेको उल्लेख गर्दै खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भोटेकोशी बाढीमा वीरगञ्ज क्षेत्रका मात्रै यति ठूलो संख्यामा मानिस बेपत्ता भएको विवरण सार्वजनिक भएपछि पीडित परिवारले खोजी कार्यलाई थप प्रभावकारी बनाउन माग गरेका छन्।















Discussion about this post