जनकपुरधाम/असोज ११ गते । जनकपुरधामका निजी अस्पतालहरूमा प्रदान भइरहेको स्वास्थ्य उपचारको वर्तमान अवस्था, सेवा प्रवाहको गुणस्तर, चुनौती तथा सुधारका उपायबारे अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित साइ मल्टी स्पेशलिटी हस्पिटल तथा ट्रमा सेन्टरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा निजी अस्पतालबाट प्रदान भइरहेको स्वास्थ्य सेवाको अवस्था, उपचार शुल्क र बिरामीको अधिकारलगायतका विषयमा छलफल गरिएको हो ।
मुजेलियामा अवस्थित उक्त अस्पतालको आयोजनामा भएको कार्यक्रमको संयोजन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश र्याट विभाग प्रमुख अम्भु प्रसाद साहले गर्नुभएको छ । कार्यक्रमलाई व्यवस्थित रूपमा अगाडि बढाउन साहले सञ्चालकको भूमिका निर्वाह गर्नुभएको आयोजकले जनाएको छ ।
जनकपुरधाम तथा आसपासका क्षेत्रका नागरिकहरूले निजी स्वास्थ्य संस्थाबाट प्राप्त गरिरहेको सेवाको गुणस्तर, उपचार शुल्क र बिरामीको अधिकारजस्ता महत्वपूर्ण विषयमा नागरिक समाजबीच गहन छलफल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक अम्भु प्रसाद साहले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।















Discussion about this post