रौतहट/असोज ७ गते। भारतको गुजरातस्थित सूरतको श्याम संगिनी टेक्सटाइल मार्केटमा गत सेप्टेम्बर ९ मा लागेको भीषण आगलागी सामान्य घटना नभई पूर्वकर्मचारीले बदला लिन गराएको खुलेको छ ।
सरोली क्षेत्रमा रहेको उक्त कपडा बजारमा आगलागी गराएको आरोपमा प्रहरीले महाराष्ट्रको धुले निवासी पूर्वमुनीम विनोद सावलेलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सावले कपडा व्यापारी हनुमानप्रसाद जावरको पसलमा मासिक ३० हजार भारु तलबमा काम गर्थे । जागिर छाडेपछि उनको १० हजार रुपैयाँ तलब बक्यौता रहेको थियो । बक्यौता तलब नपाएको र काम गर्ने क्रममा आफूलाई अपमान गरिएको भन्दै उनी असन्तुष्ट थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सावलेले आफूलाई अपमानित गरेको भन्दै व्यापारीलाई ‘सबक सिकाउने’ उद्देश्यले पेट्रोल प्रयोग गरी पसलमा आगो लगाएका थिए । आगो नियन्त्रणबाहिर गएपछि कपडा बजारका १७ वटा पसलमा फैलिएको थियो ।
आगलागीबाट करिब २४ करोड भारु बराबरको कपडा तथा अन्य सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । व्यापारी जावरको मात्रै करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेजसहित विभिन्न प्रमाण संकलन गरेको थियो । प्राप्त प्रमाणका आधारमा सावलेलाई पक्राउ गरिएको र उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।















Discussion about this post