तेहरान, ९ भदौं । इरानको संसदले होर्मुज जलसन्धि भएर आवतजावत गर्ने जहाजहरूमा ‘टोल’ अर्थात एक प्रकारको कर वा शुल्क लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ।
इरानको मेहर समाचार संस्थाका अनुसार उक्त जलसन्धि भएर आवतजावत गर्न अनुमति पाएका देशका जहाजहरूलाई प्रदान गरिने सामुद्रिक सेवाहरूको बदलामा यो शुल्क लिइनेछ।
इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता हसन घाशघाभीका अनुसार उक्त शुल्कको बदलामा समुद्री सहयोग, सुरक्षा र बीमाजस्ता सेवाहरू उपलब्ध गराइनेछन्।
यसका साथै, वातावरणीय सेवाहरू र विशेष परिस्थितिहरूमा इन्धन पनि उपलब्ध गराइनेछ। भुक्तानी इरानी रियाल वा इरानको रोजाइको अन्य कुनै पनि मुद्रामा गर्न सकिनेछ।
उता, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प प्रशासन इरान विरुद्धको आर्थिक युद्धको अन्तिम चरणमा पुगेको बताएका छन्। बेसेन्टका अनुसार अमेरिकाले इरानका लागि राजस्वका प्रमुख स्रोतहरू बन्द गर्ने लक्ष्य राखेको छ।
बेसान्टले बताए अनुसार अमेरिकाले इरान माथि दबाब बढाउन आफ्ना सम्पूर्ण सरकारी निकाय तथा अधिकारीहरूको प्रयोग गर्नेछ। यसअघि ट्रम्पले यस कदमलाई कुनै शत्रु राष्ट्रविरुद्ध चालिएको सबैभन्दा महत्त्वपूर्ण आर्थिक कारबाहीको संज्ञा दिएका थिए र इरानलाई एक्ल्याउने कार्यमा साथ दिन अन्य मुलुकहरूलाई आह्वान गरेका थिए।















Discussion about this post