काठमाडौं/भदौं ६ गते। ब्राजिलका महान खेलाडी रोनाल्डिन्होले ४६ वर्षको उमेरमा फुटवलमा पुनरागमन गरेका छन् ।
इटालीको तेस्रो श्रेणीको क्लब ‘राभेना’ बाट पुनरागमनको घोषणा गरे पछि आफ्नो करियरको ३००औँ गोल गर्ने आशा व्यक्त गरेका छन्।
सन् २०१५ मा खेल जीवनबाट सन्यास लिएका पेरिस सेन्ट जर्मेन, बार्सिलोना र एसी मिलानका पूर्व प्लेमेकरको आगमन हेर्न हजारौँ प्रशंसकहरू ‘रोनाल्डिन्हो डे’ नामक कार्यक्रमका लागि शहरको समुद्री तटमा भेला भएका थिए, उनको आगमन हेर्न दर्शकहरूले वर्षाको समेत परवाह गरेनन्।
‘यहाँ साथीहरूसँग हुन पाउँदा म धेरै खुसी छु, हामीसँग यस्तो टोली छ, जसले राम्रो नतिजा ल्याउन सक्छ,’ रोनाल्डिन्होले भने। अब उनी ‘सेरी सी’मा खेल्ने उक्त क्लबको सेयर धनीसमेत बन्नेछन्।
‘के तपाईंले मलाई खेल्दै देख्नु हुनेछ ? मलाई थाहा छैन, त्यो त प्रशिक्षकलाई मात्र थाहा हुन्छ। इटाली फर्कनु अद्भुत छ, म आफ्ना सहकर्मीहरूलाई जित दिलाउन मद्दत गर्न यहाँ आएको हुँ,’ उनले आफ्ना फ्यानहरू माझ भने, ‘तपाईंहरू देख्न सक्नुहुन्छ, म राम्रो शारीरिक अवस्थामा छु, मलाई राम्रो महसुस भइरहेको छ, यदि मैले आफ्नो ३००औँ गोल गर्न सकेँ भने, त्यो अझै सुखद हुनेछ।’
रोनाल्डिन्होले सन् २०१५ को सेप्टेम्बरमा ब्राजिलियन क्लब फ्लुमिनेन्ससँग आफ्नो अन्तिम आधिकारिक खेल खेल्दै खेल जीवन टुंग्याएका थिए। उनले सन् २००२ मा विश्वकप जितेका थिए, जसमा उनले इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा विजयी गोल गरेका थिए र सन् २००५ मा ‘बालोन डी ओर’ जितेका थिए। रोनाल्डिन्होले ब्राजिलका लागि ९७ खेलमा ३३ गोलसहित विश्वकप उपाधी जितेका छन भने बार्सिलोना र एसी मिलानवाट उनले धेरै उपाधीसमेत जितेका छन् ।
यो फरवार्डको पुनरागमनको घोषणा पहिलो पटक गत जुन महिनामा इटाली अमेरिकी व्यवसायी तथा सन् २०२४ देखि क्लबका मालिक रहेका इग्नाजियो सिप्रियानीले गरेका थिए, उनी त्यसबेला मियामीमा विश्वकपको कार्यक्रममा सहभागी थिए।
‘उनको उद्देश्य भावनात्मक छ, आफ्नो अन्तिम गोल गर्ने प्रयास गर्नु,’ सिप्रियानीले रोनाल्डिनोको प्रशंशक माझ भने, ‘उनको संलग्नता केवल देखावटी वा मानिसहरूलाई हाम्रो बारेमा कुरा गराउने मार्केटिङ स्टन्ट होइन।’ सिप्रियानीले यो पनि बताए कि रोनाल्डिन्होले सोमबार ‘सेरी सी’ सिजनको उद्घाटन खेलमा रेजियाना विरुद्ध भने खेल्ने छैनन्।
राभेनाले गत सिजनको तेस्रो श्रेणीको च्याम्पियनसिपको समूह ‘बी’ मा तेस्रो स्थान हासिल गरेको थियो र टोली ‘सेरी बी’ मा फर्कने प्रयासमा छन, जहाँ उनीहरूले सन् २००८ यता खेलेका छैनन्।















Discussion about this post