मुम्बई/साउन ४ गते । आहान पाण्डे र अनित पाड्डा अभिनित चलचित्र ‘सैयारा’ रिलिज भएको एक वर्ष भइसक्यो तर हालै यसको शीर्ष गीतलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।
संगीतकार तनिष्क बागचीले यो सुपरहिट गीतका लागि आफूले ८ लाख भारतीय रुपैयाँ रोयल्टी नपाएको दाबी गरेका छन्। उनले इन्स्टाग्राममा लामो पोस्टमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए तर यशराज फिल्म्स (वाइआरएफ) ले स्पष्टीकरण जारी गरेपछि उनले उक्त पोस्ट हटाएका छन् ।
वाइआरएफले तनिष्कका दाबीहरूलाई खण्डन गर्दै एक आधिकारिक विज्ञप्ति जारी गरेको छ। प्रोडक्सन हाउसले जनाएअनुसार ‘सैयारा’ शीर्षकको गीत तनिष्क बागची, फहिम अब्दुल्लाह र अर्सलान निजामीले संयुक्त रूपमा गाएका थिए । उनीहरू तीनै जनाले आ आफ्नो सम्झौता बमोजिम समान रोयल्टी प्राप्त गरेका छन् र भविष्यमा पनि प्राप्त गर्नेछन्। प्रोडक्सन हाउसले प्रत्येक सहकर्मीलाई उनीहरूको सम्झौता अनुसारको सम्पूर्ण भुक्तानी गरि सकिएको कुरा स्पष्ट पारेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार वाइआरएफका एक प्रवक्ताले भने, ‘सैयारा’को शीर्षक गीत तीन जना संगीतकार अर्थात तनिष्क बागची, फहिम अब्दुल्लाह र अर्सलान निजामीले तयार पारेका हुन्। लाखौंको मन जित्न सफल यो गीत सिर्जना गर्न सहकार्य गरेकोमा हामी उनीहरू तीनै जनाप्रति आभारी छौं। यस गीतको रोयल्टी तीनै जना संगीतकारबीच समान रूपमा बाँडिएको छ र भविष्यमा पनि सोहीअनुसार वितरण गरिनेछ। वाइआरएफले आफ्ना दायित्वहरू पूरा गरेको छ र सहमति बमोजिमका सर्त तथा समयसीमा भित्र प्रत्येक साझेदारलाई उनीहरूको सम्पूर्ण भुक्तानी प्रदान गरेको छ।’
यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने तनिष्कले हालै इन्स्टाग्राममा एउटा लामो पोस्ट साझा गरेका छन्। उनले त्यसमा ‘सैयारा’सँगको आफ्नो पहिलो चलचित्र भएको र आफूले उक्त गीतमा निकै मिहिनेतका साथ काम गरेको उल्लेख गरेका छन्। चलचित्रका लागि पाएको पारिश्रमिक गीतको निर्माण, लाइभ रेकर्डिङ र मिक्सिङको खर्चमै सकिएको थियो। उनले यति धेरै लोकप्रिय बनेको गीतका लागि ८ लाख रुपैयाँ रोयल्टी पाउनु निकै कम भएको बताएका छन्।
तनिष्कले यो अनुभवले संगीत उद्योग प्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गरेको र अबदेखि कलाकार तथा उनीहरूको कडा परिश्रमको कदर गर्ने निर्माता र निर्देशकहरूसँग मात्र काम गर्ने बताए। यद्यपि, वाइआरएफको विज्ञप्तिपछि तनिष्कले उक्त पोस्ट हटाएका छन्।
‘सैयारा’ १८ जुलाई २०२५ मा हलहरूमा प्रदर्शन गरिएको थियो। यस चलचित्रमार्फत अहानले अभिनयमा डेब्यु गरे भने अनितका लागि यो मुख्य अभिनेत्रीको रूपमा पहिलो चलचित्र थियो। प्रदर्शनपछि उनीहरू दुवै रातारात स्टार बने। चलचित्रले दर्शकबाट अत्यधिक माया पायो र बक्स अफिसमा ब्लकबस्टर साबित भयो।
‘सैयारा’ को एक वर्ष पूरा भएको अवसरमा अहान पाण्डे र अनित पडा लन्डनको प्रसिद्ध वेम्बली स्टेडियममा विशेष रूपमा पुनर्मिलन भएका थिए ।














Discussion about this post