सिरहा/असार २८ गते। सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वा क्षेत्रमा रहेको पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अवास शेखकी १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन् ।
प्रहरीका अनुसार आइतबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै बालबालिका पशु हाटबजार परिसरभित्र रहेको पानी जमेको खाल्डोमा पुगेका थिए । नुहाउने क्रममा उनीहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अवास शेखको स्थायी घर रौतहटको जिगरवा भए पनि उनी करिब ३० वर्षदेखि गोलबजार–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए । कवाडी सामग्री संकलन गरेर जीविकोपार्जन गर्दै आएका उनको पाँच सन्तानमध्ये तीन जनाको एउटै घटनामा मृत्यु भएपछि परिवार शोकमा डुबेको छ । स्थानीयका अनुसार उक्त खाल्डो पशुहरूलाई पानी खुवाउने उद्देश्यले बनाइएको थियो । वर्षाको पानी जमेर खाल्डो गहिरो बनेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तीनै बालबालिकालाई तत्काल उपचारका लागि अस्पताल पु¥याइएको थियो । तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । घटनापछि स्थानीयवासीले सार्वजनिक स्थानमा रहेका यस्ता जोखिमपूर्ण खाल्डाखुल्डी सुरक्षित बनाउन तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।















Discussion about this post