धनुषा/फागुन १२ गते। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा धनुषा–३ मा चुनावी माहोल तातिएको छ। यही क्रममा जुलीकुमारी महतोले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष भेटघाट र संवाद बढाएकी छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार महतो दैनिकजसो विभिन्न टोल–बस्तीमा पुगेर स्थानीयका समस्या, गुनासा र अपेक्षा सुन्दै आफ्ना प्रतिबद्धता प्रस्तुत गरिरहेकी छन्। घरदैलो अभियानका क्रममा उनले विकास, पूर्वाधार विस्तार र राजनीतिक स्थायित्वलाई मुख्य एजेण्डा बनाएकी छन्।
अभियान अन्तर्गत उनी जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धी पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेकी थिइन्। स्थानीय बासिन्दाले उनलाई स्वागत गर्दै सडक, शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता प्राथमिकताका विषयमा ध्यानाकर्षण गराएका थिए।
महतोले एमालेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ लक्ष्यलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै जनताको साथ र विश्वास अपरिहार्य रहेको बताइन्। आफू सधैँ जनतासँगै रहेको दाबी गर्दै यसपटक मतदाताले अवसर दिने विश्वाससमेत व्यक्त गरिन्।
एमालेलाई मधेशविरोधी दलका रूपमा चित्रण गर्ने प्रयास भइरहेको टिप्पणी गर्दै उनले एमाले नेतृत्वको सरकारले मधेश प्रदेशमा सडक सञ्जाल विस्तार, शैक्षिक संरचना सुदृढीकरण तथा स्वास्थ्य पूर्वाधार विकासमा महत्वपूर्ण काम गरेको जिकिर गरिन्।
उनले राष्ट्रिय विकास, राजनीतिक स्थायित्व र समृद्धिका लागि एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सूर्य चिन्हमा मतदान गर्न आग्रह गरिन्।
महतोले आगामी दिनमा क्षेत्रका अन्य वडाहरूमा समेत घरदैलो कार्यक्रमलाई थप विस्तार गर्दै अभियानलाई अझ व्यापक बनाउने तयारी रहेको जानकारी दिएकी छन्।














Discussion about this post