जनकपुरधाम/पुष १९ गते। नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको दाबी गर्दै त्यसको पुनःस्थापना अपरिहार्य रहेको बताएका छन्। एमाले धनुषा जिल्ला कमिटीले आयोजना गरेको विस्तारित बैठक तथा ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सम्मान कार्यक्रममा उनले वर्तमान सरकारले गैरसंवैधानिक ढंगले संसद विघटन गरेको आरोप लगाए।
महासेठले जेन–जी आन्दोलनको नाममा गठन भएको सरकारका गतिविधि कानुनविपरीत रहेको टिप्पणी गर्दै एमाले कुनै पनि हालतमा चुनावबाट नभाग्ने स्पष्ट पारे। “सर्वोच्च अदालत वा अन्य संवैधानिक प्रक्रियामार्फत प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्छ,” उनले भने।
उनका अनुसार संसद पुनःस्थापना भए संसदभित्रबाटै सर्वदलीय सरकार गठन गरी निष्पक्ष चुनाव गराउनु उपयुक्त विकल्प हो। तर अदालतबाट पुनःस्थापना नभए एमाले चुनावी प्रतिस्पर्धामा उत्रिने र त्यसका लागि पार्टी संगठन सुदृढ बनाउँदै तयारी अघि बढाइने उनले बताए। उनले कार्यकर्ताहरूलाई सक्रिय भएर चुनावी अभियानमा जुट्नसमेत आग्रह गरे।
कार्यक्रममा महासेठले गणतन्त्रविरोधी शक्ति, कम्युनिष्ट सरकारप्रति असहिष्णु तत्व तथा कांग्रेस–एमाले गठबन्धन सरकारको लोकप्रियताबाट असन्तुष्ट समूहले जेन–जी आन्दोलनको आडमा भदौ २३ र २४ गते तोडफोड र विध्वंस गरेको आरोप लगाए।
त्यसैगरी, पूर्वमन्त्री जुली महतोले जेन–जी आन्दोलनमा विदेशी शक्तिको संलग्नता हुन सक्ने आशंका व्यक्त गर्दै विकासको गतिलाई रोक्न नेपाललाई अस्थिर बनाउने प्रयास भएको बताइन्।
कार्यक्रमको अन्त्यमा एमालेको ११औँ महाधिवेशनबाट धनुषा जिल्लाबाट निर्वाचित पदाधिकारीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।















Discussion about this post