गिरिजानन्द साह/भदौ १२ गते। जनकपुरधामको पेठिया बजारस्थित गणेश मन्दिरमा विशेष उत्साह र भव्यता सहित गणेश पूजा मनाईदै छ। रामजानकी युवा कमिटीको आयोजनामा भएको यस धार्मिक पर्वमा विहानैदेखि भक्तजनहरूको उल्लेखनीय भीड देखिएको छ।
मन्दिर परिसरलाई यस अवसरमा दुलहीझैँ सजाइएको छ। रंगीन बत्ती, फूलमालाले झलमलाएको वातावरणले धार्मिक माहोललाई अझ मनमोहक बनाएको छ। पूजा आरम्भसँगै विहान–साँझ विशेष आरती, भजन–कीर्तन र प्रसाद वितरण कार्यक्रमको निरन्तरता रहनेछ।
स्थानीय बालबालिका, महिला र युवाहरूको उत्साहपूर्ण सहभागिताले पूजालाई अझ आकर्षक बनाएको छ। रामजानकी युवा कमिटीका महासचिव विनय साहका अनुसार यस पूजाले समाजमा धार्मिक एकता, सद्भाव र सकारात्मक सोचलाई अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
मन्दिर व्यवस्थापन समितिले पूजा तीन दिनसम्म निरन्तर सञ्चालन हुने जानकारी दिएको छ। यस अवधिभर वरिपरिका गाउँ तथा नगर क्षेत्रका श्रद्धालुहरू दर्शन तथा पूजाआजाका लागि आउने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमै सुरु गरिएको यो धार्मिक कार्यक्रम जनकपुरधामवासीका लागि केवल पूजामात्र नभई सामुदायिक एकता र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा रहेको देखिएको छ।














Discussion about this post