जनकपुरधाम/असार २६ गते। जनकपुरधामको माछा बजार चोकमा बिहीबारदेखि नेपालकै पहिलो स्वदेशी टायल्स ब्रान्ड ‘नेपोभेट टायल्स’ को सोरुम सञ्चालनमा आएको छ। नेपोभेट ट्रेडिङ्ग द्वारा करिब १ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको सोरुमको उद्घाटन जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास वैशनवले गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै नेपाल सरमिकका चेयरम्यान शम्भुनाथ साहले नेपोभेट ट्रेडिङ्गबाट प्राप्त आम्दानी जनकपुरधामको विकास तथा सामाजिक कार्यमा खर्च गरिने जानकारी दिए । उनले टायल्स नेपालकै माटो प्रयोग गरेर उत्पादन गरिने र आईएसओ प्रमाणित भएको जानकारी दिंदै गुणस्तरमा कुनै शंका नराख्न आग्रह गरे।
नेपोभेट ट्रेडिङ्गका प्रबन्धक सुनिल कुमार साहले टायल्सले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रदान गर्दै बताए । उनले ढुक्क भएर नेपोभेटको टायल्स प्रयोग गर्न सबैमा आग्रह गरे । सोरुमबाट देशभर गुणस्तरीय टायल्स वितरण गरिने उनको भनाइ रहेको थियो।
उक्त कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडी, साहित्यकार तथा विश्लेषक रमेश रञ्जन झा, गायक तथा संगीतकार सुनिल मल्लिक, जीवनाथ चौधरी, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो।
नेपोभेट टायल्सको सुरुवातसँगै स्थानीय स्तरमै गुणस्तरीय टायल्सको सहज पहुँच हुने र स्वदेशी उद्योग प्रवर्द्धनमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।














Discussion about this post