गिरिजानन्द साह/जनकपुरधाम/असार २५ गते। जनकपुरधाम १६ स्थित कपिलेश्वरनाथ मन्दिरमा यस वर्षको साउने मेला भव्य रूपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको छ। मिथिलाको ‘काशी’ का रूपमा प्रसिद्ध यस मन्दिरमा साउन महिनाभर लाखौं श्रद्धालुहरूको भीड लाग्ने गर्दछ।
यस वर्षको मेला असार ३० गते सोमबारदेखि सुरु हुने जानकारी कपिलेश्वरनाथ युवा कमिटीले बुधबार पत्रकार सम्मेलनमार्फत दिएको छ। कमिटीका अनुसार यो वर्षको मेला विगतका वर्षहरूभन्दा अझ व्यवस्थित, भव्य र आध्यात्मिक रूपमा समृद्ध हुनेछ।
पत्रकार सम्मेलनमा बोल्दै युवा कमिटीका अध्यक्ष मनोज साहले भक्तजनको सहजताका लागि शुद्ध पिने पानी, स्वास्थ्य शिविर, मोबाइल शौचालय, पार्किङ, सुरक्षा व्यवस्थालगायतका सम्पूर्ण पूर्वाधार तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। साथै, श्रद्धालुहरूको भीड व्यवस्थापन गर्न स्वयंसेवकहरू तैनाथ गरिने र ट्राफिक व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग समन्वय गरिएको बताइएको छ।
कमिटीको अनुसार असार २८ गते भव्य कलश यात्रा,पहिलो श्रावण मेल असार ३० गते सोमबार,भव्य श्रृङ्गार प्रत्येक दिन बिहान ५:०० बजे र महादेव आरती प्रत्येक दिन विहान ५:३० बजे,संध्या महादेव आरती प्रत्येक दिन संध्या ७:३० बजे र महाप्रसाद प्रत्येक सोमबार राती ८:१५ बजे हुने बताए । साउन महिनाभर प्रत्येक सोमबार यहाँ विशेष पूजाआजा, रुद्राभिषेक तथा धार्मिक सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। कमिटीका अनुसार कपिलेश्वरनाथ महादेवमा जल चढाउन आउने भक्तजनको स्वागतका लागि भजन कीर्तन, धार्मिक नाटक र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ।
त्रेतायुगदेखि पूजित मानिएको यो स्थल मिथिला क्षेत्रका लाखौं भक्तजनका लागि गहिरो आस्थाको केन्द्र हो। साउने सोमबारमा यहाँको दृश्य शिव–भक्तिको अनुपम उदाहरण प्रस्तुत गर्ने गर्दछ।














Discussion about this post