जनकपुरधाम/असार २२ गते। नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिमाथि आरोपै आरोप लगाएका छन्। जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा महासेठले नेता निधिलाई “विकास विरोधी मानसिकताले ग्रसित व्यक्ति” भन्दै तीव्र आलोचना गरेका हुन्।
पूर्व उपप्रधानमन्त्री निधिले शनिबार एक पत्रकार सम्मेलनमार्फत राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणप्रति आपत्ति जनाउँदै नेता महासेठमाथि ‘विकास रोक्न चलखेल गरेको’ आरोप लगाएका थिए। त्यसको जवाफस्वरूप महासेठले नेता निधि झूटो प्रचार गरेर मिथ्या वाहवाही लिने प्रवृत्तिमा लागेको आरोप लगाए।
महासेठले भने, “जनकपुरधामको फोहोर व्यवस्थापनदेखि लिएर दुर्गानन्द झा जस्ता शहीदको सम्मानमा हुने कार्यमा समेत निधिले अवरोध पुर्याएका छन्।” उनले रामनारायण मिश्रको स्मृतिमा गंगा सागरको डिलमा एक कठ्ठा जमिनमा स्मृति भवन निर्माणको प्रयाससमेत निधिको विरोधका कारण अवरुद्ध भएको दाबी गरे।
महासेठले थपे, “रामनारायण मिश्र जसै पार्टीका हुन्, तर मुलुक र जनकपुरधामको लागि योगदान दिएको व्यक्तिको सम्मान गरिनु पर्छ। तर स्मृति भवन निधिको परिवारको नाममा बनाएको जस्तो बनाउनु पर्ने सोच गलत हो।”
उनले नेता निधिले जनकपुरधाममा आफ्नै परिवारको स्मारक जस्तै महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवन निर्माण गराएर अरू राष्ट्रिय व्यक्तित्वको योगदान ओझेलमा पार्ने प्रयत्न गरेको बताए।
राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन मनियारीबाट सार्ने प्रयास भएको भन्ने निधिको आरोपको खण्डन गर्दै महासेठले विश्वविद्यालय सम्पूर्ण मिथिला र मधेशबासीको साझा सपना भएको उल्लेख गरे। “बन्ने भवन जुनसुकै ठाउँमा होस्, तर बन्नै पर्छ,” महासेठले स्पष्ट पारे।
महासेठले अन्त्यमा भने, “विमलेन्द्र निधि मेरो मित्र हुन्, म उहाँलाई व्यक्तिगत रूपमा सम्मान गर्छु, तर पछिल्लो अभिव्यक्ति गैरराजनीतिक र पूर्वाग्रही देखिन्छ।”




















Discussion about this post