माघ ७ गते। अत्यधिक जाडोका कारण मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ । हुस्सु, शीतलहरसँगै दिउँसो चल्ने हावाका कारण जनकपुरधामसहित मधेशमा अत्यधिक चिसो बढेको छ ।
चिसो र शीतलहरले जनकपुरधामलगायतका स्थानमा जनजीवन कष्टकर बनेको छ । माघको सुरु सातादेखि जनकपुर लगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो ।
केही दिन अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो । तर अहिले दिनभर बाक्लो हुस्सु लाग्न थालेको छ ।
चिसो अत्यधिक बढेपछि मानिसहरू घरबाहिर निस्कनसमेत सकेका छैनन् । चिसोका कारण धनुषाको जनकपुरधाम, सबैला, महेन्द्रनगर, महोत्तरीको जलेश्वर, गौशाला, पर्साको वीरगञ्ज, सप्तरीको राजविराज, सिरहाको सिरहा, लहान, रौतहतको गौर, सर्लाहीको मलंगवालगायतका व्यापारिक केन्द्रहरूमा दिउँसै चहलपहल घटेको छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट बढि प्रभावित छन् ।
गाउँघरमा घुर तापेर जाडो छल्ने गरिएको छ । अत्यधिक जाडोले घर बाहिर निस्कन मुस्किल भएको छ । दैनिक गरिने कामकाजमा बाधा पुगेको छ ।

















Discussion about this post