विश्व बजारमा कच्चा तेलको भाउ घटेर आधामा झर्न सक्ने संकेत गरिएको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत शीर्ष तेल उत्पादकहरु अर्थात् ओपेक प्लसले अहिलेको उत्पादन कटौतीको योजनालाई त्यागे भने तेलको भाउमा व्यापक कमी आउन सक्ने सिटी ग्रुपका कमोडिटिज रिसर्चका ग्लोबल हेड म्याक्स लेटनले ब्लुम्बर्ग टिभीसँगको एउटा अन्तरवार्तामा भनेका छन् ।
ओपेकले सन् २०२४ को पहिलो त्रैमासमा अहिले जारी कटौतमाथि थपेर तेलको उत्पादन दिनकै अरु ९ लाख ब्यारेल घटाउने योजना बनाइरहेको छ । सदस्य देशहरुले तोकिएको संख्यामा कटौतीलाई कायम गरे भने तेलको भाउ प्रतिब्यारेल ७० देखि ८० डलरबिच सन्तुलित हुनसक्ने लेटनको भनाई छ । तर ओपेकले वाचा गरेअनुसार अतिरिक्त कटौती गर्न सकेन भने तेलको भाउ ३० देखि ५० प्रतिशतसम्म घट्न सक्ने उनी बताउँछन् ।
यसको परिणाम यति पीडादायक हुनेछ कि मूल्यलाई टेवा दिन आगामी वर्षको बाँकी अवधिभर दैनिक ५ लाख ब्यारेल उत्पादन घटाउनु पर्ने हुन सक्ने लेटन बताउँछन् । विश्वको कच्चा तेलको मागमा आएको कमी र अत्यधिक आपूर्तिका कारण यो वर्षभर कच्चा तेलको भाउ दबाबमा छ । सन् २०२४ भर यो स्थितिले निरन्तरता पाउने लेटनको धारणा छ । आगामी वर्ष चीनको कच्चा तेलको मागमा केही सुधार आउने आशा गरिएको भएपनि त्यहाँ जारी आर्थिक सुस्तीले विश्वको आर्थिक वृद्धिदरमा तीव्र कमी ल्याउन सक्ने देखिन्छ । यस्तोमा तेलको भाउलाई टेवा दिन ओपेकसामु थप उत्पादन कटौतीको विकल्प छैन भन्छन् लेटन ।




















Discussion about this post