मंसिर २६ गते। वीरगञ्ज महानगरपालिकाका मेयर र उपमेयरका समर्थकबीच मंगलबार झडप भएको छ। महानगरपालिकाको कार्यालय परिसरमै मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच कुटाकुट भएको हो।
एउटै कोठामा पञ्जीकरण शाखा राख्ने कि उपमेयरको सचिवालयको लागि प्रयोग भन्ने विषयमा दुई पक्षबीच विवाद भएको थियो। केही समयअघि मात्रै मेयर बस्ने कोठा परिवर्तन भएर त्यहाँ प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा बनाइएको थियो।
कर्मचारी स्रोतका अनुसार उपमेयर इम्तियाज आलमको सचिवालयले कार्यकारी अधिकृत सरेपछि खाली रहेको कोठालाई आफूले प्रयोग गर्ने बताएका थिए ।
‘खाली कोठामा ताला नै झुन्ड्याइएको थियो,’ नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारी भन्छन्, ‘मंगलबार ताला खोलाएर पञ्जीकरण शाखा बनाउने विषयमा विवाद भएको हो ।’
पञ्जीकरण शाखाका लागि कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच घम्साघम्सी भएको थियो । विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए । प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरकोस्थित सामान्य रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।

















Discussion about this post