काठमाडाैं/जेठ २३ गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र सङ्घीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले संविधानको कार्यान्वयनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगत् प्रतिबद्ध हुनुपर्ने बताए ।
उनले निर्वाचन तालिकालाई बदलेर संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिए । उनले मुलुकै पुरानो त्रिभुवन विश्वविद्यालयलाई ‘एक्सलेन्स’ सेन्टरका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।
नेता निधिले बाँकी आङ्गिक र सम्बन्धप्राप्त क्याम्पसलाई नयाँ विश्वविद्यालयका रुपमा विकास गरिनुपर्ने बताए । ‘क्षेत्रगत र विषयगतरुपमा धेरै विश्वविद्यालय भएमा रोजगारी पनि सिर्जना हुन्छ, उच्च शिक्षा अध्ययनका नाममा विदेशिने रकम पनि जोगिन्छ’, उनले भने ।
बजेटको अनुसूचीमा धेरै संस्थाका पुनःसंरचनाको विषय राखिएको भए पनि त्रिविको पुनःसंरचना गर्ने विषय नसमेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘जुन देशले मानव जनशक्ति विकासमा ठूलो लगानी गर्छ, त्यही देशले नै समृद्धि र विकासका यात्रा अगाडि बढाउन सक्छ । उच्चस्तरको जनशक्ति नभएमा उच्च विकासको आशा कसरी गर्ने ? त्रिविलाई पुनःसंरचना गरियोस्’, नेता निधिले भने ।





















Discussion about this post