काठमाडौँ/चैत २१ गते । लघुवित्त वित्तीय संस्थाहरूको ज्यादतीका विरुद्ध सडक सङ्घर्षमा उत्रिएका पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा रिले अनशन सुरु गरेका छन् । लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समिति, नेपालको नेतृत्वमा मंगलबारदेखि अनिश्चितकालीन रिले अनशन सुरु भएको हो ।
पहिलो दिन अध्यक्ष मणिराम ज्ञवालीसहित पाँच जना सडकमा व्यानरसहित अनशन बसेका छन् । ग्रामीण अर्थतन्त्र उत्थानका नाममा लघुवित्त संस्थाहरूले गरिब निमुखा किसानहरूलाई चर्को ब्याजमा ऋणको भारी बोकाको र धरपकड गरेको भन्दै देशभरिका ऋणीहरू आन्दोलित भएका छन् । शान्तिपूर्ण आन्दोलन गर्दा सुनुवाइ नभएको भन्दै पीडितहरूको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन मंगलबारदेखि अनिश्चितकालीन रिले अनशन सुरु गरिएको अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिए ।
सोमबार पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी ज्ञापन पत्र बुझाएका थिए । पीडित ऋणीहरूले चक्रीय ब्याजमा कर्जा लगानी गरेर नाफा आर्जन गर्ने लघुवित्त संस्था नै खारेज गर्नुपर्ने माग राखेका छन् ।
एकै व्यक्तिलाई १२-१५ वटा संस्थाले ऋणको भारी बोकाएको, महँगो ब्याज लिएको र २-३ प्रतिशतसम्म सेवा सुल्क लिएको आन्दोलनरत पक्षको आरोप छ । हालसम्म लघुवित्तबाट ऋण लिएका ऋणीहरूको सबै ऋण मिनाहा हुनुपर्ने माग समेत उनीहरूको छ।
















Discussion about this post