काठमाडौं। मुस्लिम आयोगले मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राखेर सिफारिस गरिदिन मधेसी आयोगसमक्ष अनुरोध गरेको छ । मुस्लिम आयोगले मधेसी आयोगलाई एक पत्र पठाउँदै यस्तो आग्रह गरेको छ । यसअघि, आयोगले सिफारिसकै आधारमा मुस्लिमलाई मधेसीको सूचीबाट हटाएको थियो ।
मधेसी आयोगद्वारा प्रकाशित ‘मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जातसहित थारू र मुस्लिमलाई पनि मधेसीको रूपमा सूचीकृत गरिएको थियो । प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएपछि मुस्लिम र थारू आयोगका पदाधिकारीहरू सहित सो समुदायका विभिन्न संघ संगठनहरू मधेसी आयोगको सो निर्णयप्रति विरोध गरेका थिए । त्यसपछि, आयोगले मङ्सिर २० गते बैठक बसी थारू र मुस्लिमलाई मधेसीको सूचीबाट हटाएको थियो ।
मधेसीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवालगायत विभिन्न निकायहरूमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेसीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख छ ।
मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडि बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीबाट व्यापक विरोध भएपछि सूचीबाट हटाएको बताए । यससँगै आयोग आन्तरिक छलफलमा रहेको बताइएको छ।





















Discussion about this post