जनकपुरधाम/कार्तिक २४ गते।छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । साँझ सप्तरी,सिरहा,धनुषा,महोत्तरी,बारा, पर्सा, रौतहट लगायतका जिल्लाका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न भएको छ ।व्रतालुहरू छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ चढाएका छन् । अधिकांश व्रतालुहरू रातभर जागराम बसी भजन कीर्तन गर्ने गर्दछन् ।
छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ । पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व पहाडी समुदाय लगायत मुस्लिम समुदाय एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रुपमा अघि बढ्दै गएको छ ।पारिवारिक एवं सन्तानको सुख समृद्धिको कामना गरी नियम पूर्वक मनाइने छठ पर्वको आज (बुधवार) मुख्य दिन रहेको छ ।
छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र भोलि (बिहीबार) उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वमा बाँसको ढक्की, नाङ्लो माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने व्रतालु ३ दिनसम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् ।
छठ पर्वमा सूर्य भगवान् अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । यसैबिच प्रदेश २ सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार बिहानबाट सुरु भएको यो पर्वमा व्रतालु मङ्गलवार दिनभरि भोकै बसेर साँझ सख्खर हालेको खिर खाएका छन् । त्यसपछि उनीहरू आज बुधवार दिनभरि भोकै बसी अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । बिहीबार बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत सम्पन्न हुनेछ । उदाउँदो सूर्यलाई अर्घ दिएपछि पूजासामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने मिथिलाञ्चलमा प्रचलन रहेको छ ।














Discussion about this post