सप्तरी/श्रावण २१ गते।सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका घुरन रामका ७ वर्षीय छोरा उमेश रामको पोखरीमा डुबेर सोमबार ज्यान गयो।
राजविराज नगरपालिका–११ चनौरामा मामाघर आएका उनको सोही स्थानमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गयो ।
रुपनी गाउँपालिका–१ का अबधीराम यादवका ६ वर्षीय छोरा युवराजकुमार यादवको घरछेउको माछा पोखरीमा खेल्ने क्रममा गत साउन १५ गते डुबेर ज्यान गुमाएको थियो ।
यस्तै भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायतका सिताराम मुखियाका ८ वर्षीय छोरा विकास मुखियाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डल्बास्थित मामाघर आएका बेला गत साउन ११ गते कोसी नदीमा दाउरा छान्ने क्रममा डुबेर ज्यान गयो ।
साउन महिनाका १८ दिनमा मात्र सप्तरीमा मात्रै डुबेर मृत्यु भएका यी तीन घटना हुन् ।
तराईका जिल्लामा ‘लापरबाही’ का कारण डुबेर ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।
आफन्तका घरमा पाहुना आउने बालबालिकाको पोखरीमा नुहाउँदा र नदीमा खेल्ने क्रममा तथा पानी जमेको खाल्टोमा डुबेर ज्यान गएको घटना बढिरहेका छन् ।
जिल्ला प्रहरी सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले गत आर्थिक वर्ष ०७७र७८ मा जिल्लामा २१ जनाको डुबेर ज्यान गुमाएको बताए ।
२१ जनामा १६ महिने बालकदेखि ८२ वर्षीय वृद्धसमेत रहेको प्रहरीले जनाएको छ । एक वर्षमा ज्यान गुमाएका २१ जनामध्ये १३ जना १७ वर्षमुनिका छन् ।
डीएसपी काफ्लेका अनुसार पानीमा डुबेर मृत्यु हुने घटना लापरबाहीका कारणले बढिरहेको हो ।
‘साना बालबालिकालाई नुहाउन पोखरी, नदीमा पठाउने, गाउँघरमा पानी जमेको खाल्टोमा खेल्न जाँदा अभिभावकले ध्यान नपुर्याउने गर्दा ज्यानकै क्षति हुने गरेको छ,’ काफ्लेले भने, ‘झन् नयाँ स्थानमा पाहुना जाने बालबालिकाको थप ध्यान दिनुपर्ने हुन्छ ।’
वर्षात्का बेला सप्तकोसीलगायतका नदी किनारमा साना बालबालिका पनि दाउरा संकलन गर्न लागेका हुन्छन् ।
कोही अभिभावकसँग त कोही एक्लै पनि नदीमा दाउरा संकलन गर्न जाँदा असावधानीवश डुबेर ज्यान गुमाउने गरेका छन् ।
यसका अतिरिक्त विभिन्न बस्तीनजिक पानी जमेर बनेको खाल्टाले पनि साना बालबालिकाको ज्यान लिँदै आएको छ ।





















Discussion about this post