धनुषा /कार्तिक ६ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० बाट बालिकामाथि दुर्व्यवहार तथा आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दशैँ मेला हेरेर घर फर्किने क्रममा एक युवक र एक बालिकालाई बाटोमा रोकेर धम्क्याउँदै ब्ल्याकमेलिङ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार असोज ४ गते राति करिब ८ बजे युवक र बालिका बसैहयातर्फ पैदल जाँदै गर्दा दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले बाटो छेकेर उनीहरूलाई घेरा हालेको थियो। त्यसपछि भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिँदै पीडितहरूलाई डरत्रास देखाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
आरोपितहरूले पीडितका अभिभावकलाई फोन गरेरसमेत धम्क्याउँदै रकम माग गरेको र मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएको प्रहरीको भनाइ छ।
यसका साथै बालिकाको संवेदनशील अंगमा गलत मनसायले छोएको लगायतका दुर्व्यवहार गरेको आरोपसमेत उनीहरूमाथि लागेको छ। घटनाको प्रकृति र संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनामा संलग्न रहेको आरोपमा असोज ५ गते बिहान करिब ३ बजे चारै जनालाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो।
पक्राउ पर्नेमा सुकन महतो (अन्दाजी २३ वर्ष), सन्तोष कुमार दास (अन्दाजी २६ वर्ष), पनेश कुमार महतो (अन्दाजी २२ वर्ष) र सुजित महतो (अन्दाजी ३० वर्ष) रहेका छन्।
प्रहरीले घटनामा प्रयोग भएका दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका चारै जनामाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

















Discussion about this post