मुम्बई/भदौं १३ गते । जे भए पनि मुकेश खन्ना ‘शक्तिमान’को भूमिकामा रणवीर सिंहलाई नलिने अडानमा कायममै रहेका छन्।
उनका अनुसार, रणवीर चलचित्रको खलनायक ‘तमराज किलविश’को भूमिकाका लागि उपयुक्त हुन सक्छन् तर उनमा शक्तिमानका लागि आवश्यक गुणको अभाव छ। यही अडानका कारण उनले सोनी इन्टरनेसनल र वाईआरएफबाट आएका करोडौँका प्रस्तावसमेत अस्वीकार गरिदिएका छन्।
युट्युबर शुभोजित घोषसँगको कुराकानीमा मुकेशले आफ्नै कारणले सोनी पिक्चर्सले ‘शक्तिमान’ बनाउन नसकेको स्वीकार गरेका छन् । उनले भने, ‘रणवीरले ‘धुरन्धर’, ‘गल्ली ब्वाइ’ वा ‘पद्मावत’का खिलजी जस्ता पात्रको भूमिका त निभाउन सक्छन्, तर ‘शक्तिमान’ बन्न सक्दैनन्ण्। यसको मुख्य कारण रणवीरको अनुहारमा देखिने चञ्चल वा दुष्ट भाव हो।’ यद्यपि, यी कुराका बाबजुद मुकेश उनलाई एक अत्यन्तै कुशल अभिनेता मान्छन्।
“रणवीरलाई अस्वीकार गर्दा मलाई अलिकति नराम्रो लाग्यो। शक्तिमानका लागि मेरो मनमा जुन अनुहारको कल्पना थियो, त्यो मैले उनीमा देखिनँ। तर उनको ऊर्जा भने अद्भुत थियो। उनी करिब तीन घण्टासम्म मेरो अगाडि बसेर आफ्नो सम्पूर्ण कथा सुनाइरहे। कहिले भुइँमा बस्थे त कहिले उठेर यताउता हिँड्थे। म रणवीरबाट निकै प्रभावित भएँ, देव आनन्द साहबपछि मैले यति धेरै ऊर्जावान् अन्य कोही कलाकार देखेको थिइनँ।”
‘धुरन्धर’ पछि मुकेशले रणवीर सिंहको निकै प्रशंसा गरेका थिए। यो देखेर मानिसहरूले ‘शक्तिमान’ को भूमिकाबारे उनको धारणा परिवर्तन हुने अनुमान गरेका थिए तर, त्यसो भएन। मुकेश स्वीकार गर्छन् कि रणवीरमा धेरै राम्रा गुणहरू छन् र उनी रणवीरको उच्च प्रशंसा पनि गर्छन्, तैपनि यसको अर्थ उनले रणवीरलाई ‘शक्तिमान’को भूमिका दिन तयार भएको भन्ने होइन।
मुकेश बताउँछन् कि यस विषयमा आफ्नो अडानका कारण उनलाई करोडौँको नोक्सानी भइरहेको छ। उनका अनुसार, ‘व्यावसायिक दृष्टिकोणले हेर्दा म मूर्खजस्तै व्यवहार गरिरहेको छु। मैले लाखौँ मात्र होइन, करोडौँ मूल्यका चेकहरू रोकेर राखेको छु। मेरो कार्यालयका कर्मचारीहरू पनि मलाई भन्छन्, ‘सर, पहिले चेक लिनुहोस्, लडाइँ त पछि पनि लड्न सकिन्छ।’
मुकेशको अडान भने कायमै छ कि पैसा उनका सिद्धान्तभन्दा माथि छैन। त्यसैले, जब निर्माताहरूले दोस्रो चेक पठाउने तयारी गर्दै थिए, उनले उनीहरूलाई रोकेका थिए । उनका अनुसार, सोनीले उनीसँग परामर्श गरे तापनि ‘शक्तिमान’लाई आफ्नै सर्तमा निर्माण गर्न चाहेको थियो तर उनी त्यसमा सहमत हुन तयार भएनन् ।
यसै खिचातानीका कारण घोषणा भएको चार वर्ष बितिसक्दा पनि ‘शक्तिमान’का बारेमा कुनै नयाँ प्रगति वा खबर आउन सकेको छैन।















Discussion about this post