महोत्तरी/साउन २७ गते । सिबिएम ग्लोबलको आर्थिक सहयोग तथा रतौली युवा क्लबद्वारा सञ्चालित ‘क्लेक्टिभ एक्सन फर इनक्लुसिभ प्राक्टिस’ (क्याप) परियोजनाअन्तर्गत महोत्तरी गाउँपालिका र बलवा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री तथा स्वरोजगारका लागि बिउ पुँजी वितरण गरिएको छ।
अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार, पहुँच तथा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा स्थानीय तहको योजना निर्माणदेखि कार्यान्वयन तहसम्म अपाङ्गता भएका व्यक्तिहरूको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमका व्यवस्थापक रुपेश कुमार ठाकुरका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी उनीहरूलाई आवश्यक सहायक सामग्री उपलब्ध गराउने तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। स्थानीय सरकारले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकताअनुसार सहायक सामग्री उपलब्ध गराउने जिम्मेवारीलाई थप प्रभावकारी बनाउन पनि परियोजनाले सहजीकरण गर्दै आएको उनले बताए।
यसैक्रममा प्राविधिकबाट नापजाँच तथा आवश्यकता पहिचान गरिएका लाभग्राहीहरूलाई ९ थान ह्विलचेयर वितरण गरिएको छ। ह्विलचेयर प्राप्त गरेपछि अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक आवतजावत, सामाजिक गतिविधि तथा सार्वजनिक सेवामा पहुँच बनाउन सहज हुने विश्वास गरिएको छ।
त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले ५ जनालाई स्वरोजगार सञ्चालनका लागि बिउ पुँजी अन्तर्गत विभिन्न सामग्री प्रदान गरिएको छ। लाभग्राहीहरूलाई ठेला, खाजा पकाउने सामग्री तथा चप्पल पसल सञ्चालनका लागि आवश्यक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्नु केवल सामग्री वितरणमा सीमित नराखी उनीहरूको अधिकार, पहुँच, सम्मान र आत्मनिर्भरता सुनिश्चित गर्नुपर्ने बताए। उनले स्थानीय सरकारसँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक कार्यक्रम तथा सेवाहरूलाई प्रभावकारी बनाउन क्लबले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीप कुमार पाण्डेयले अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय सरकारको विकास प्रक्रियामा समान रूपमा सहभागी गराउनुपर्नेमा जोड दिए। उनले अपाङ्गता भएका नागरिकको आवश्यकता पहिचान गरी उनीहरूको जीवन सहज बनाउने कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने बताए।
बलवा नगरपालिकाका मेयर राम विजय महतोले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री तथा स्वरोजगारका अवसर उपलब्ध गराउने कार्यक्रम आवश्यक र प्रभावकारी रहेको बताए। उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग तथा अवसर प्रदान गरेर उनीहरूलाई समाजमा सम्मानपूर्वक र आत्मनिर्भर जीवनयापन गर्ने वातावरण बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा दुवै स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहायक सामग्री खरिद गर्न बजेटसमेत विनियोजन गरेको जानकारी गराइएको थियो। स्थानीय तहले बजेट छुट्याएर अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता सम्बोधन गर्न थालेसँगै आगामी दिनमा सहायक सामग्रीको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।
रतौली युवा क्लबका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री उपलब्ध गराउनुका साथै स्वरोजगारका लागि बिउ पुँजी प्रदान गर्दा उनीहरूको दैनिक जीवन सहज हुनुका साथै सामाजिक तथा आर्थिक समावेशीकरणमा समेत सकारात्मक प्रभाव पर्नेछ।
कार्यक्रममा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी, महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीप कुमार पाण्डेय, बलवा नगरपालिकाका मेयर राम विजय महतो, कार्यक्रम व्यवस्थापक रुपेश कुमार ठाकुर, रतौली युवा क्लबका कर्मचारी तथा महोत्तरी गाउँपालिकाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।
रतौली युवा क्लबले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र अवसर विस्तारका लागि स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
















Discussion about this post