मुम्बई/साउन २६ गते। भोजपुरी चलचित्र उद्योगकी ‘युट्युब क्विन’ भनेर चिनिने अभिनेत्री आम्रपाली दुबे प्रायः आफ्नो व्यक्तिगत जीवन, विशेष गरी दिनेश लाल यादव ‘निरहुआ’ सँगको प्रेम सम्बन्धको चर्चाका कारण चर्चामा रहन्छिन्।
यी दुई कलाकार बीचको प्रस्ट निकटताले उनीहरूलाई सधैं चर्चाको केन्द्रमा राख्ने गर्छ। हालै, विवाह नगरी आमा बन्ने निर्णय गरेर उनले नयाँ चर्चा सिर्जना गरेकी छिन् । जब उनले आफ्ना आमाबुवालाई यो निर्णयबारे बताइन्, तव उनका आमाबुवा आश्चर्यचकित भएका थिए । आउनुहोस्, उनले के भनिन् भन्नेबारे जानौं।
हाल भोजपुरी स्टार आम्रपाली दुबे ‘जियो हटस्टार’को कार्यक्रम ‘भोजपुरी बवाल’मा निरहुआ, पवन सिंह, तेज प्रताप यादव र काजल राघवानीसँगै देखा परिरहेकी छिन्। सोमबारको एपिसोडमा, जब उनले विवाह नगरी आमा बन्ने आफ्नो निर्णयबारे आफ्ना आमाबुवालाई बताइन् तब त उनीहरू सुरुमा स्तब्ध भएस । उनका बुवाले त सामाजिक मान्यता र दुनियाँको धारणाको समेत कुरा उठाए। तब यसै क्रममा आम्रपाली निकै भावुक भइन्।
आम्रपालीले विवाहको विषयमा आफ्नो परिवारसँग कुरा गर्दै भनिन्, ‘म अहिले विवाह गर्न चाहन्नँ किनभने मैले तपाईँहरूजस्तो जोडी भेटेकी छैनँ। एक अर्कासँग केही नबोलीकनै पनि तपाईँहरूले कसरी एक–अर्कालाई बुझ्नुहुन्छ, त्यो मैले देखेकी छु। म कुनै सम्बन्धमा बाँधिन पनि तयार छैन किनकि मलाई साँच्चै बुझ्ने मान्छे मैले भेटेकी छैनँ।’
त्यसपछि उनले आमा बन्ने आफ्नो निर्णयबारे बताइन्, ‘म विवाह त गर्न चाहन्नँ तर एउटी छोरीलाई धर्मपुत्रीका रूपमा अपनाएर आमा बन्न भने चाहन्छु।’
आम्रपालीको निर्णयबारे प्रतिक्रिया दिँदै उनका बुबाले तत्कालै सोधे, ‘उषा, (आम्रपालीकी आमा) तिम्रो भनाइ के छ ?’
अभिनेत्री बिचैमा जवाफ काटेर भनिन, ‘म यसमा ढुक्क छु र मैले वकिलसँग पनि भेटिसकेकी छु, उहाँहरूले मलाई सहयोग गर्नुहुनेछ। म मातृत्वको अनुभव गर्न चाहन्छु। म आमा बन्न र कुनै बच्चालाई राम्रो जीवन दिन चाहन्छु, मेरो मनमा यस्तो तीव्र इच्छा छ। त्यसैले म आमा बन्न चाहन्छु।’
त्यसपछि उनकी आमाले सम्झाउँदै भन्छिन, ‘नानी, यो निकै ठूलो निर्णय भएकाले यस विषयमा छलफल गर्ने ठाउँ यो होइन। हामी पनि हजुरबुबा हजुरआमा बन्न चाहन्छौं। हामी पक्कै पनि यस विषयमा गम्भीरतापूर्वक सोच्नेछौं।’
यो खबर सुनेपछि आम्रपालीका बुबाले भने, ‘तिमीले त आफ्नो निर्णय गरिसक्यौं तर दुनियाँले के भन्ला ? आखिर समाजको पनि त ख्याल गर्नुपर्छ नि।’
अभिनेत्रीका आमाबुबाले उनको निर्णयप्रति खुसी व्यक्त गरे तापनि उनीहरूले सामाजिक दृष्टिकोणलाई पनि ध्यानमा राख्नुपर्ने कुरामा जोड दिएका थिए । यसबाट अभिनेत्री निकै निराश भइन् तर अन्ततः उनको परिवार सहमत भयो, उनीहरूले उनलाई साथ दिने र उनको निर्णयको पक्षमा उभिने आश्वासनसमेत दिएका छन । यो सुनेर आम्रपालीको आँखा रसाए।















Discussion about this post