सोल/साउन ६ गते । दक्षिण कोरियामा सरकारी वकिलहरूले ‘दुई मिशेलिन स्टार’ प्राप्त रेस्टुरेन्टको सञ्चालकका लागि एक वर्षको जेल सजाय माग गरेका छन्।
उक्त रेस्टुरेन्टमा डेजर्ट, मिठाइ पस्किँदा र सजावटका रूपमा कमिलाको प्रयोग गरिएको आरोप लगाइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, सरकारी वकिलहरूले सोमबार रेस्टुरेन्टलाई २ करोड कोरियन वन अर्थात करिब १३,५१० अमेरिकी डलर जरिवाना गराउन पनि माग गरेका छन्। यस मुद्दामा अदालतले आगामी सेप्टेम्बर २ मा फैसला सुनाउने कार्यक्रम छ।
रेस्टुरेन्ट सञ्चालकले कमिलाहरू पस्केको कुरा स्वीकार गरेका छन्। यद्यपि, उनले बताएअनुसार १५ वटा मेनुको एउटा सानो भागमा मात्र तिनको प्रयोग गरिएको थियो, कमिलाहरूलाई ‘सोरबेट’ मा टपिङको रूपमा पस्किएको थियो। उनले दाबी गरे अनुसार ग्राहकहरूलाई कमिलाको सट्टा अर्कै टपिङ रोज्ने विकल्प पनि दिइएको थियो।
दक्षिण कोरियाली कानुनअनुसार मानिसले खानका लागि अनुमति दिइएका १० प्रकारका किराहरूमध्ये कमिला पर्दैनन्।
खाद्य तथा औषधि सुरक्षा मन्त्रालयका अधिकारीहरूले अनलाइनमा राखिएका ग्राहकका समीक्षा र परिकारका तस्बिरहरू फेला पारेपछि यो कुरा बाहिर आएको हो। ती तस्बिरहरूमा खाना माथि छरिएका कमिलाहरू देखिन्थे।
अनुसन्धानकर्ताहरूको अनुमान अनुसार चार वर्षको अवधिमा विभिन्न परिकारहरूमा अमेरिका र थाइल्यान्डबाट आयात गरिएका करिब ४९,००० कमिलाहरूको प्रयोग गरिएको थियो।
उनीहरूले अस्ट्रेलिया, डेनमार्क र बेलायतजस्ता देशहरूमा रेस्टुरेन्टहरूमा कमिलालाई खाद्य सामग्रीको रूपमा प्रयोग गरिने तर्क पनि गरेका छन । अदालतका कागजातहरूमा उक्त रेस्टुरेन्ट वा त्यसका सञ्चालकको नाम खुलाइएको छैन। दक्षिण कोरियामा दुई ‘मिसलिन स्टार’ प्राप्त १० वटा रेस्टुरेन्टहरू छन्, ती सबै राजधानी सोलमा अवस्थित छन्।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न संस्कृतिहरूमा कमिलाहरू खाइन्छन् र कतिपय ठाउँमा तिनलाई विशेष स्वादिष्ट परिकार मानिन्छ। थाइल्यान्ड र कम्बोडियाको खानामा ‘वीभर’ जातका कमिला र तिनका अण्डाको प्रयोग गरिन्छ भने कोलम्बियामा ‘रानी कमिला’ लाई ‘क्याभियार’ अर्थात माछाको अण्डा जत्तिकै उच्च महत्त्व दिइन्छ।















Discussion about this post