बेइजिङ/श्रावण २ गते। चिनियाँ एआई कम्पनी ‘डीपसीक’का संस्थापक तथा सीईओ लियाङ वेनफेङ (४१) विश्वकै सबैभन्दा धनी एआई स्टार्टअप संस्थापक बनेका छन्।
चिनियाँ स्टार्टअप ‘डीपसीक’ले हालै सम्पन्न गरेको लगानी संकलन चरणपछि कम्पनीका संस्थापक लियाङ वेनफेङको कुल सम्पत्ति बढेर ३६ अर्ब अमेरिकी डलर पुगेको छ । यससँगै उनी एआई मोडेल निर्माण गर्ने विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
डीपसीकमा रहेको करिब ७८ प्रतिशत स्वामित्वबाट प्राप्त लियाङको कुल सम्पत्ति जुन महिनामा भएको लगानी संकलन चरणपछि दोब्बरभन्दा बढीले वृद्धि भयो, जसले उनको सम्पत्तिमा करिब १९ अर्ब डलर थप्यो।
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार ४१ वर्षीय यी उद्यमी अब च्याटजीपीटीको विकासकर्ता ओपनएआईका अध्यक्ष ग्रेग ब्रकम्यान, जसको अनुमानित कुल सम्पत्ति २५.५ अर्ब डलर छ र ‘क्लोड’ को विकासकर्ता ‘एन्थ्रोपिक’ का सह संस्थापक डारियो अमोडेई, जसको सम्पत्ति ७.९८ अर्ब डलर रहेको छ । तर, लियाङ यीनीहरू भन्दा धेरै अगाडि रहेका छन्। ओपनएआईका सह संस्थापक तथा सीईओ स्यामुएल अल्टम्यान भने ब्लुमबर्गको विश्वका ५०० धनी व्यक्तिहरूको सूचीमा अटाउन सकेका छैनन ।
उसो भए लियाङका बारेमा जानौं
लियाङ स्वभावैले जिज्ञासु प्रकृतिका थिए। विद्यालयमा छरिएर रहेका कम्प्युटर वा अन्य कुनै विद्युतीय उपकरणलाई मर्मत गर्ने उद्देश्यले उनी तिनका पाटपुर्जा खोलेर अलग अलग गर्थे। उपकरणहरू खोल्ने र मर्मत गर्ने यस्तो बानीका कारण उनले प्रायः परिवार र शिक्षकहरूको गाली खानु पर्थ्यो तैपनि उनले आफ्नो बानी कहिल्यै परिवर्तन गरेनन्। पछि एआई चिपहरू विकास गर्ने क्रममा उनको यही दृढताले उनलाई मद्दत पुर्यायो।
उनी कक्षा ८ मा पढ्दा नै कलेज स्तरको गणितको अध्ययन गर्न थालेका थिए। एकपटक शिक्षकले उनलाई कलेज स्तरको एउटा गणितीय समस्या दिएर जाँच गरे तर लियाङले त्यसलाई केही मिनेटमै हल गरे। त्यसपछि उनी विद्यालयमा गणितका प्रतिभाशाली विद्यार्थीका रूपमा चिनिन थाले।
यसमा उनका अभिभावकको महत्त्वपूर्ण भूमिका थियो । स्वयं शिक्षक भए पनि उनीहरूले कहिल्यै छोराको प्राप्तांक वा श्रेणीमा अनावश्यक जोड दिएनन्। बरु, उनीहरू सधैं यति मात्र सोध्थे, ‘आज तिमीले के नयाँ कुरा सिक्यौ ? वा कुन नयाँ समस्या हल गर्यौ ? उनी उत्तरहरू कण्ठ पार्नु भन्दा समस्याहरूको समाधान खोज्नमा बढी केन्द्रित हुन्थे।
सन् २०१९ मा जब कम्पनीहरूले एआईलाई गम्भीरतापूर्वक लिइरहेका थिएनन्, लियाङले एआई मोडेलहरू निर्माण गर्न १० हजारवटा चिपहरू खरिद गरे। त्यो बेला मानिसहरूले उनको यो कदमलाई मूर्खतापूर्ण र खेर जाने काम भनी टिप्पणी गरेका थिए । लियाङको तर्क थियो, ‘एआईको युगमा चिपहरू सहजै उपलब्ध हुने छैनन्।’ नभन्दै पछि मानिसहरूले यो कुरा बुझे।
इन्जिनियरिङमा स्नातकोत्तर गरेका लियाङ आफ्नो कामप्रति यति धेरै समर्पित थिए कि उनले नयाँ घर किनेपछि त्यसको निर्माण कार्यसमेत पूरा गरेनन्। उनको सम्पूर्ण ध्यान कोड लेख्न र एआई मोडेलहरू निर्माण गर्नमा केन्द्रित थियो। त्यहाँ बस्नका लागि उनले अधुरो घरभित्रै एउटा पाल टाँगे र रातहरू त्यहीँ बिताउन थाले। केही वर्षपछि परिस्थितिमा आमूल परिवर्तन आयो। सन् २०२५ मा ‘डीपसिक’ले हासिल गरेको सफलता पछि चिनियाँ नयाँ वर्षको अवसरमा उनको गाउँ ‘मिलिलिङ’ मा उनलाई स्वागत गर्ने पोस्टरहरू टाँगिए। लियाङ उपलब्ध नभएको अवस्थामा मानिसहरू त्यहाँबाट फर्किनु अघि उनका हजुरबुबासँग तस्बिर खिचाउँथे।















Discussion about this post