जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको पहिलो अधिवेशन असोज २७ जनकपुरधाममा सुरु हुने भएको छ। अधिवेशनबाट ५१ सदस्यीय प्रदेश समिति चयन हुने जनाइएको छ।
आइतबार नेपाल पत्रकार महासंघ धनुषा सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादवले उदघाटन सत्र असोज २७ गते र बन्द सत्र असोज २८ गते हुने र करिब ५ सय प्रतिनिधि र एक सय पर्यवेक्षक अधिवेशनमा सहभागी हुने जानकारी दिए।
उनका अनुसार अधिवेशनले परिवर्तित राजनीतिक सन्दर्भमा संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन प्रणाली र अधिकार तथा पहिचानको आन्दोलनको औचित्यलाई थप पुष्टि गर्नेछ। वडा, पालिका र जिल्ला तहका अधिवेशन सम्पन्न भएपछि अब प्रदेशस्तरीय अधिवेशन हुन लागेको उनले बताए।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने अधिवेशनबाट एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना मुख्यसचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष चयन गरिनेछ। बाँकी सदस्य मनोनयनका आधारमा चयन हुने र समितिको १५ प्रतिशत सदस्य पछि मनोनित गरिने अध्यक्ष यादवले जानकारी दिए।
अध्यक्ष पदका लागि हालसम्म तीन जनाले उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारमा वर्तमान प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादव, मधेश प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्रकुमार यादव र पूर्व राज्यमन्त्री योगेन्द्र यादव रहेका छन्।













Discussion about this post