श्रावन ३ गते।“रोजगारको अर्थ हातमा सीप हुनुपर्छ,” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताएका छन्।
शनिबार महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ६ मा निर्माण हुन लागेको प्रशिक्षण प्रतिष्ठानका निर्माणका लागि भूमिपूजन कार्यक्रममा बोल्दै रोजगारीका लागि आबश्यक सीप अनिवार्य शर्त भएको बताएका हुन ।
मन्त्री भण्डारीले सरकारले सबैलाई जागिर दिन नसक्ने भएकाले निजी क्षेत्रले नै रोजगारीको अवसर निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले भने, “ नेपाली युवाहरु बिदेश त गइरहेका छन, तर कुनै सीप, न ज्ञान वा जानकारी बिना गएका छन । सीप र दक्षता हासिल गरे विदेशमा मात्रै होइन स्वदेश मै पनि राम्रै अवसर पाइन्छ। अहिले बर्सेनि श्रमबजारमा आउने ५ लाखमध्ये ४ लाख युवाले जागिर नपाइरहेका छन्। त्यसो भएको हुनाले सीपयुक्त, दक्ष जनशक्ति उत्पादन गर्न यस प्रतिष्ठानले महत्वपूर्ण हुनेछ ।”
उनले आगामी दिनमा यस प्रतिस्थापनलाई अन्तर्राष्ट्रिय स्तरको पोलिटेक्निक इन्स्टिच्युट बनाउने लक्ष्य रहेको र यो प्रतिष्ठानले NAVT अन्तर्गत ६ महिनासम्मको तालिम प्रदान गर्ने जानकारी दिए। साथै उनले स्कुल तहमै प्राविधिक शिक्षा आवश्यक भएको उल्लेख गरे। महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण रिसालले सीप अभावकै कारण स्वदेशमै रोजगारी नपाएको जनाउँदै भने, “सीप विकासका लागि स्थापित यो केन्द्र महोत्तरी र मधेश प्रदेशकै लागि गौरवको विषय हो।” श्रम मन्त्रालयको अगुवाइमा प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा अगाडि बढाइएको यो परियोजना साउदी सरकारले सहयोग गरेको १३ करोड रुपैयाँसहित कूल ६२ करोडसम्मको लागतमा निर्माण गरिनेछ।
बहुउद्देश्यीय प्रयोगका लागि बनाइने प्रतिष्ठानको अवधारणा अनुरूप देशभरका सातै प्रदेशमा यस्ता केन्द्र स्थापना गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ। हाललाई ४ प्रदेशमा नयाँ संरचना बनाउने प्रक्रिया अगाडि बढाइको छ । जसमध्ये आर्थिक बर्षको सुरुवात मै मधेश प्रदेशबाट सुरु गरिएको हो । कार्यक्रममा सहभागी सबैले भौतिक पूर्वाधारको निर्माण कार्य यथाशीघ्र निर्माण भएर संचालन हुन सकोस कामना गरेका थिए ।













Discussion about this post